कुन्दनकुमार पन्त
एउटा सभामा देशका वरिष्ठ राजनीतिज्ञदेखि साधारण कार्यकर्तासम्म भेला भएका थिए । समसामायिक राजनीतिको बारेमा आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको थियो । यसैबीच एकजना वरिष्ठ वृद्ध नेताले सभामा बोल्ने वक्ताहरूको अभिव्यक्ति तथा उपस्थित व्यक्तिहरूको मूल्याङ्कन र विश्लेषण गरिरहेका थिए । जब उनको बोल्ने पालो आयो उनले निकै जोशका साथ कुर्लिएर भने, “अबको राजनीति युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ । देश विकासको जिम्मेवारी अब हामीले युवा पुस्तामा सुम्पनु पर्छ । त्यसैले हामी ज्येष्ठ राजनीतिज्ञहरूले युवा पुस्तालाई स्थान दिँदै जानु पर्छ । हामीले त्यसमा कञ्जुस्याइँ गर्नु हुँदैन ।”
वृद्ध नेताको भाषणले युवा पुस्ताका नेता र कार्यकर्ताको खुसीको सीमा नै रहेन । उनको यस्तो उदारवादी उद्गारको निकै प्रशंसा भयो । अधिकांश युवा नेता तथा कार्यकर्ताले उनको भावना र विचारलाई स्वागत गर्दै कृतज्ञतासमेत जाहेर गरे । यस प्रकारको अभिव्यक्तिले सभालाई थप रौनकमय बनाई दियो । सहभागीहरूमा नयाँ तरङ्ग नै पैदा गरिदियो तर केही ज्येष्ठ तथा वृद्ध राजनीतिज्ञहरूको मनमा भने आफ्नो भाग हरिने हो कि भन्ने पीरले अनुहारमा नैराश्यता छायो ।
केही समयपछि चुनाव आयो । युवा नेता उत्साहित हुँदै उम्मेदवारीका लागि तयारीमा लागे तर चुनावको उम्मेदवारी घोषणा हुनु केही दिनअघि एउटा सभा गरेर उनै वृद्ध नेताले आफूले उम्मेदवारी दिने घोषणा गरे । यो देखेर युवापुस्ताका नेता तथा कार्यकर्ता आश्चर्यमा परे ! उनको भनाइ र गराइमा देखिएको भिन्नताप्रति आक्रोश व्यक्त गर्दै उनीसँग प्रश्न गर्न थाले ।
केही राजनीतिक विश्लेषकहरूले भने दिवङ्गत वृद्ध राजनीतिज्ञमा दूरदर्शिता रहेको र पछि आउने परिस्थिति पहिले नै आकलन गरी उनले त्यस्तो अभिव्यक्ति दिएको विश्लेषण पनि गरे ।
ती वृद्ध नेताले युवापुस्ताका नेता तथा कार्यकर्तालाई शान्त रहन आग्रह गर्दै प्रश्नको जवाफ दिन थाले, “मैले युवापुस्तालाई राजनीतिमा सरिक गराएर राजनीति हस्तान्तरण हुनुपर्छ भनेर थालनीका लागि आग्रह गरेको हुँ । म यसप्रति प्रतिबद्ध नै छु । यसमा मेरो दुई मत छैन । यसका लागि युवावर्गलाई जागरूक र सचेत भई अभ्यासमा लाग्न सन्देश प्रवाह गरेको हुँ । तपाईंहरूका लागि बाटो खुलाउने काम मैले गरेको छु तर राजनीतिमा कुनै पनि कुरा लागू गर्न अभ्यास र तयारी हुनुपर्दछ । अहिलेको अवस्थामा युवाले समय अभावले पर्याप्त अभ्यास र तयारी गर्न नपाएको कुरालाई ध्यान दिँदै यस पटकका लागि मैले उम्मेदवारी दिएको हुँ । अभ्यास, तयारी र अनुभव बिना नेतृत्व हस्तान्तरण गरियो र अभिभारा बोकाइयो भने दुर्घटना हुन सक्छ । राजनीतिलाई ओरालो लाग्न तथा दुर्घटनाबाट जोगाउन मैले उम्मेदवारी दिनुपरेको हो । यसमा मेरो कुनै स्वार्थ र मोह नभएर एउटा राजनीतिक कार्यकर्ता भएको कारणले यसको रक्षा गर्ने दायित्व निर्वाह मात्र गरेको हुँ । राजनीतिमा हतार गर्नु हँुदैन । त्यसैले आउँदो चुनावमा युवापुस्ताबाट एउटा भरपर्दो र परिपक्व युवा विजयी भएको देख्न चाहन्छु । यसका लागि मेरो पनि साथ र सहयोग हुनेछ । यस पटकको चुनावमा मलाई सहयोग गरी विजयी गराउनु होस् । म त अब वृद्ध पनि भइसकेँ, म विजयी भए पनि एउटा पदमा बस्ने अभिभावकजस्तो मात्र न हो, सबै काम त तपाईंहरूले नै गर्ने त हो । यसबाट तपाईंहरूलाई पनि सहयोग हुन्छ अनि अभ्यास र अनुभव पनि ।” यति कुरा सुनेपछि युवा नेता र कार्यकर्ताको बोल्ने बाटो नै रहेन । उनीहरू नेताको कुरोमा सहमत भए । पुराना पुस्ताका अधिकांश कार्यकर्ता र धेरै मतदाता त उनकै समर्थनमा थिए । युवापुस्ताको पनि समर्थन पाएपछि उनलाई चुनावमा विजयी हुन निकै सहज हुने भयो । चुनाव भयो, वृद्ध नेता अत्यधिक मतले विजयी भए ।
केही समयपछि वृद्ध नेताको मृत्यु भयो । उनको रिक्त स्थानमा पदपूर्ति गर्न उपनिर्वाचन हुने भयो । दिवङ्गत वृद्ध नेताको घोषणा, इच्छा र चाहनालाई साकार पार्नका लागि पुराना पुस्ताका नेता तथा कार्यकर्ताले उम्मेदवारी नदिने भए । उक्त स्थानमा युवापुस्ताले नै उम्मेदवारी दिने भए तर युवापुस्ताका नेता तथा कार्यकर्ता उम्मेदवारीका लागि तँछाड मछाड गर्न थाले । उम्मेदवारीका लागि हानाथाप चली नै रह्यो । कोही पनि सहमतिमा आउन चाहँदैनथे । यो देखेर दिवङ्गत वृद्ध नेताको छोराले धेरै युवालाई मिलाएर सक्षम युवाबीच प्रतिस्पर्धा गराउन प्रयास पनि गरे तर सबैमा पदको मोहले जरो गाडिसकोको हुँदा कोही पनि सहमतिमा आउन चाहेनन् । त्यसपछि उनले सोचे, ‘यिनीहरूको किचलो मिलाउनुभन्दा त म आफैँले उम्मेवारी दिनु प-यो ! यी युवामध्ये केहीलाई साथमा लिन सकेँ र आफ्ना बाबुको पालाका सहयोगी तथा कार्यकर्ताले साथ दिए भने त जिती हालिन्छ । बरू पहिले सल्लाह गर्नुप¥यो र मिल्ने भए मौका छोपिहाल्नु प-यो ।’
यसपछि दिवङ्गत वृद्ध नेताको छोराले भरपर्दा र विश्वासिला केही युवा साथी तथा आफ्ना बाबुको पालाका सहयोगी कार्यकर्ता जम्मा गरेर आफ्नो विचार राखे । उनको विचारमा सबै सहमत भए र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अब उनी ढुक्क भए । एकदिन उनले चनावको सन्दर्भलाई लिएर एउटा आमसभा गरे । आमसभामा भने, “यस क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीले मेरो बुवालाई अगाध माया र ममता प्रदान गर्नु भई लामो समयसम्म विजयी बनाई यस क्षेत्रको विकास र जनताको सेवा गर्ने मौका दिनुभएकोमा यहाँहरूप्रति कृतज्ञता जाहेर गर्दछु । अबको राजनीति युवापुस्तामा हस्तान्तरण हुनुपर्छ भन्ने उहाँको इच्छा, आकाङ्क्षा र घोषणाअनुसार राजनीतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने कुराप्रति यहाँहरू सकारात्मक देखिनुभएको पाएँ । यस कार्यलाई सफल पार्न सहयोग गरिदिनुभएमा उहाँको आत्माले पनि शान्ति पाउनेछ । योग्य र युवा व्यक्ति प्रतिनिधित्व हुन सके यस क्षेत्र र जनताको गौरव बढ्न जाने थियो । त्यसका लागि मैले पनि धेरै प्रयास गरेँ तर उहाँहरू सहमतिमा आउन चाहनु भएन । यस्तो अन्योल परिस्थितिमा निकास दिन केही युवा साथी र अघिल्ला पुस्ताका राजनीतिक अग्रजहरूबाट यस पटक मलाई नै उम्मेदवारी दिन सल्लाह, सुझाव र दबाबसमेत दिनुभयो । त्यसैले यहाँरूको आग्रहलाई स्वीकार गरी यस पटकको चुनावमा मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ । यहाँहरूले आफ्नो मत प्रदान गर्नु भई विजयी गराउनु हुनेछ भन्ने आशा र विश्वास लिएको छु ।” दिवङ्गत वृद्ध नेताको छोराको भाषण सकिनेबित्तिकै तालीको गडगडाहट आयो । केही मान्छे भने निराश र असहमत देखिन्थे तर बहुसङ्ख्यक समर्थकहरूका अगाडि उनीहरूको विरोध गर्ने कसको हिम्मत ? उनीहरू निन्याउरो मुख लगाएर बस्नु सिवाय अरू उपाय के नै छ र !
चुनावका उम्मेदवारी दिने दिन दिवङ्गत वृद्ध नेताको छोराले तामझामका साथ समर्थकहरू अघिपछि लगाएर आफ्नो उम्मेदवारी दर्ता गराए । अरू केही युवाले पनि छुट्टाछुट्टै आफ्नो उम्मेदवारी दर्ता गराए । चुनावको दिन मतदान भयो । शान्तिपूर्ण र धाँधलीरहित तवरले चुनाव सम्पन्न भयो । मत गणना भयो । उनै दिवङ्गत वृद्ध नेताको छोरा विजयी भएको घोषणा भयो । दिवङ्गत वृद्ध नेताको इच्छा, आकाङ्क्षा र घोषणाअनुसार राजनीति युवा पुस्तामा हस्तान्तरण त भयो । राजनीतिमा उनैको परिवारको वर्चस्व कायम भयो तर कसैले पनि यसप्रति आरोप प्रत्यारोप गर्ने र खोट लगाउने ठाउँ नै थिएन । युवाबीचको असहमति र छिनाझप्टीको कारण यो परिस्थितिको सिर्जना भएको स्पष्ट देखिन्थ्यो । केही राजनीतिक विश्लेषकहरूले भने दिवङ्गत वृद्ध राजनीतिज्ञमा दूरदर्शिता रहेको र पछि आउने परिस्थिति पहिले नै आकलन गरी उनले त्यस्तो अभिव्यक्ति दिएको विश्लेषण पनि गरे ।