युवराज गौतम
अङ्ग्रेजीमा ‘अर्किड’ भनिने सुनगाभा अर्थात् सुनाखरी हाम्रो गाउँघरमा ढकमक्क फुल्छन् । विशेषतः पूर्वी नेपालका गाउँ–सहरका घरहरूमा सुनगाभा रोप्ने र ढकमक्क फुलाउने प्रतिस्पर्धा नै चल्छ । लामो समयसम्म नओइलाउने र ढकमक्क फुलिरहने यो फूल औषधिका रूपमा पनि प्रयोग गरिन्छ । दशकौँसम्म पनि यसको बोट सुक्दैन । गमलामा सजाइएको सुनगाभा महँगो मूल्यमा बिक्री पनि हुन्छ । सामान्य लाग्ने यो फूल जङ्गलमा प्रशस्त पाइन्छ । लेउ वा झ्याउ पलाएको जुनसुकै रुख र ढुङ्गामा उम्रिने सुनगाभालाई वनस्पतिविज्ञले दुर्लभ मानेका छन् । पूर्वी नेपालका इलाम, पाँचथर, धनकुटा मात्र होइन, सीमापारि दार्जिलिङ–सिक्किममा सुनगाभाको व्यावसायिक खेती नै गरिन्छ तर खेती गरिने र जङ्गलमा पाइने सुनगाभाको प्रजाति भने फरक हुन्छ ।
इलामको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका केही जङ्गलमा पाइने सुनगाभा भने विश्वमै दुर्लभ मानिएको छ । त्यसमध्ये पनि यहाँको हाँसपोखरी जङ्गलमा मात्रै ४१ प्रजातिका सुनगाभा पाउने गरिएको स्थानीय संरक्षकको भनाइ छ । तीमध्ये २५ प्रजाति रुखमा, १३ प्रजाति जमिनमा र तीनवटा प्रजाति रुख र जमिन दुवैमा पाइन्छ । नेपालकै लोपोन्मुख लाप्चा जातिको भाषामा सुनगाभालाई ‘करसोङ’ भनिन्छ । करसोङकै नाममा पदमार्ग निर्माण गरिएको छ । यो पदमार्गमा सुनाखरी अवलोकन गर्दै २९ किलोमिटर यात्रा गर्न पाइन्छ । रोङ गाउँपालिका अध्यक्ष सुवास स्याङ्बो यो पदमार्ग सुनाखरी अवलोकन र संरक्षण दुवैका लागि निर्माण गरिएको बताउनुहुन्छ । विश्वमा दुर्लभ प्रजातिका सुनगाभा यहाँको जङ्गलमा पाइने भएकाले विश्वभरका वनस्पति अध्येता र पर्यटकलाई लक्षित गरेर पदमार्गलाई व्यवस्थित बनाउने योजना रहेको उहाँ सुनाउनुहुन्छ ।
हुन पनि विभिन्न अध्ययनले निकालेको निष्कर्षअनुसार हाँसपोखरी जङ्गलमा पाइएको सिम्बिडियम डिमोनियम र इस्मेरेल्डा कर्लकेई प्रजातिका सुनाखरी नेपालका अन्य क्षेत्रमा फेला नपरेको बताइन्छ । जसका कारण वनस्पति अध्येताहरू यहाँको जङ्गलमा पुग्ने गरेका छन्, करसोङ पदमार्गमा रमाउने गरेका छन् । स्थानीय योगेश चाम्लिङ रोङ गाउँपालिकाको हाँसपोखरी जङ्गलमा पाइने सुनगाभा विश्वकै दुर्लभ प्रजातिको भएको र अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयको केही पाठ्यक्रममा यसको अध्ययन भइरहेको जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँको सुनगाभा विश्वकै दुर्लभ भएको वनस्पति विज्ञहरूले निकालेको तथ्य हो । हामीले भनेका होइनौँ, तथ्य पुस्तकमै समेटिएको छ । यसको संरक्षण हुनुपर्छ । यसका लागि गाउँपालिकाले विशेष कार्यक्रम ल्याएर संरक्षण गर्नुपर्ने देखिन्छ ।”
सुनगाभा साइटिस (अन्तर्राष्ट्रिय व्यापार महासन्धि) सूचीको अनुसूची–२ मा सूचीकृत वनस्पति हो । समुद्री सतहको एक हजार ६२४ मिटरदेखि एक हजार सात सय मिटर उचाइसम्म यो फूल जीवित रहन्छ तर सुनगाभा पाइने रोङको जङ्गल दुई हजार मिटरको उचाइमा छ । जेठदेखि असोज महिनासम्म सुनगाभा ढकमक्क फुल्छ तर एकथरी सुनगाभा असोज–कात्तिक र चैत–वैशाख–जेठमा पनि फुल्छन् । राता, सेता तथा कलेजी रङमा लहरा र डाँठमा सुनाखरी फुल्छ । ज्वरो, दम, खोकी तथा घाँटी दुख्दा औषधिका रूपमा यसलाई प्रयोग गर्ने चलन छ । च्यवनप्रासमा पनि यसको मिश्रण गरिएको हुन्छ । रुखका हाँगा र ढुङ्गाको चेपमा उम्रने यो फूल प्रेमको प्रतीक पनि मानिन्छ ।
नेपालमा पाइने सुनगाभाका बारेमा विभिन्न अध्ययन भएका छन् । विश्वका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूले यसको अध्ययन गरिरहेका छन् । ‘फाइटो–ट्याक्सा’ जर्नलको ‘न्यू स्पेसिस् अफ अर्किड एन्ड नोट्स अन अर्किडेसी’ शीर्षक लेखमा नेपालमा पाइने सुनगाभाको बारेमा उल्लेख गरिएको छ । जसमा ५०२ प्रजातिका सुनभागा भेटिएको उल्लेख छ । सुनगाभाको औषधीय गुणका बारेमा पनि अध्ययन हुने गरेको छ । सन् २०१९ मा ‘द न्युयोर्क बोटानिकल गार्डेन प्रेस’को जर्नल ‘इकोनोमिक बोटनी’मा नेपालका औषधिजन्य वनस्पतिबारे लेखिएको र उक्त लेखमा नेपालमा पाइने सुनगाभाको औषधीय महत्त्वबारे उल्लेख गरिएको पाइन्छ । नेपालका वनस्पतिबारे अध्ययन गरिरहेका अर्जुन दाहाल इलामको रोङ र सूर्योदय क्षेत्रमा पाइने सुनगाभाको गहिरो अध्ययन नभएको बताउनुहुन्छ ।
हुन त नेपाल सरकारले यसको संरक्षण र संवद्र्धनका लागि विभिन्न ऐन, कार्यविधि र निर्देशिका बनाएर काम पनि गरिरहेको छ तर इलामको रोङमा पाइने सुनगाभाको चोरीनिकासीमा कमी आएको छैन । औषधिजन्य वनस्पति व्यवसायीहरूले अवैध रूपमा निकासी गरिरहेका छन् । यसमा सुनगाभा पनि पर्छन् । संरक्षण गरिएको ठाउँमा भने अवलोकन गर्दै रमाउन सकिन्छ । करसोङ पदमार्गमा यात्रा गरिसकेपछि झन्डीडाँडामा उक्लिएर झुल्केघामको कलिलो किरणको अवलोकन गर्न पाइन्छ । गिद्देभीरमा पुगेपछि प्रकृतिसँग रमाउँदै आनन्द लिन सकिन्छ । रङ्गीबिरङ्गीका सुनाखरीले पदमार्ग यात्रा खुबै रोमाञ्चक बनाउँछ ।
पदमार्ग यात्रामा सिजनअनुसारको जङ्गली फलफूल, कन्दमूल, जङ्गली पशुपन्छी, लोपोन्मुख वनस्पतिको अवलोकन गर्न सकिन्छ । पदमार्गपछि सानी पाथीभरा देवीको मन्दिर, कन्यामको चियाबारी, ‘गुगल पोइन्ट’मा पुगेर यात्रालाई अझ स्मरणीय बनाउन सकिन्छ । मेची राजमार्गसँग जोडिएको यो पदमार्गमा २५ हजार गुराँसको बिरुवा पनि लगाइएको छ । गुराँस फुल्न थालेपछि पदमार्गको रौनकता थप बढ्नेछ । तराईसँगै जोडिएको पदमार्गको यात्रालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले थप योजना पनि बनाइरहेको छ । पदमार्गमा यात्रा गर्ने पर्यटकलक्षित गरेर छ ठाउँमा होमस्टेको विकास गरिएको छ । रोङ गाउँपालिका–३, हाँसपोखरीबाट सुरु भएर करसोङ पदमार्ग यही गाउँपालिकाको ५ र ६ नम्बर वडा, सिमानाको मेची नदी, निन्दा सिरान र मेचीनगर नगरपालिकासम्म पुग्छ ।