• २६ वैशाख २०८१, बुधबार

नेपालको सुखद सुरुवात

blog

भुटानलाई हराएपछि नेपाली टोली । तस्बिर सौजन्य : क्यान

काठमाडौं, असार ३ गते । नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मलेसियास्थित युकेएम एसडी क्रिकेट ओभल बांगीमा शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हरायो । 

जितका लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा सबै विकेटको क्षतिमा ५५ रनमा समेटिएको थियो । भुटानकी छिरिङ जाङ्मोले सर्वाधिक १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । भुटानलाई सस्तैमा समेट्न बलिङका नेपालकी स्पिनर संगिता राईले चार विकेट झार्नुभयो । कविता कुँवरले दुई तथा सीता रानामगर, इन्दु बर्मा र अश्मिना कर्माचार्यले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । नेपाली काजल श्रेष्ठले २६ रन बनाउनुभयो । रुविना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो सख्यामा रन जोड्न  सकेनन् ।

बलिङमा भुटानकी सोनम पाल्डनले चार विकेट लिनुभयो । अञ्जु गुरुङ र टासी छेकीले एक एक विकेट झानुभयो । जुन २५ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ । नेपाल यस च्याम्पियनसिपको उपाधि दाबेदार टोली हो । नेपालको समूहमा कुवेत, बहराइन र हङकङ छन् ।

समूहकाे दोस्रो खेलमा नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (यूएई)  छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिखमा हुनेछ ।