सुर्खेत समाचारदाता
सुर्खेत, असार १७ गते । बर्सात बढ्दै गएका बेला कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध नहोस् भनी डोजर तैनाथ अवस्थामा राखिएको छ । सुर्खेत–जुम्ला (कर्णाली राजमार्ग), सुर्खेत–दैलेख सडक, छिन्चु–जाजरकोट तथा सुर्खेत–पुरन्धारा (दाङ) सडकलाई केन्द्रित गरी सडक डिभिजन कार्यालय सुर्खेतले चार वटा डोजर तैनाथ गरेको हो ।
कर्णाली राजमार्गलाई लक्ष्य गरी दैलेखको राकम र तल्लो डुङ्गेश्वरमा, सुर्खेत–दैलेख सडकलाई लक्ष्य गरी गुराँसेमा र छिन्चु–जाजरकोट सडक तथा सुर्खेत–पुरन्धारा (दाङ) सडकलाई लक्ष्य गरी सुर्खेतको बोटेचौरमा डोजर तैनाथ गरिएको सडक डिभिजन प्रमुख खुमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले यी डोजर ले लेदो माटो खसेर सडक अवरुद्ध गराए वा ससाना पहिरोले अवरुद्ध गराएको खण्डमा सफा गरी सडक खुलाउने काम गर्ने बताउनुभयो । वर्षा मौसम लाग्नासाथ कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राखी डोजरहरू तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
ठुलो पहिरो खसेर सडक अवरुद्ध हुने अवस्था आए नेपालगन्जबाट एक्साभेटर ल्याएर सडक सञ्चालनमा ल्याइने तयारी कार्यालयले गरेको छ । अहिले तैनाथ अवस्थामा रहेका डोजरले सानातिना पहिरो हटाउने र आवश्यक परे डाइभर्सनसमेत बनाएर सडक सञ्चालनमा ल्याउने डिभिजन प्रमुख भण्डारीले बताउनुभयो ।
कर्णाली राजमार्गमा विशेष गरी दैलेख र कालीकोट खण्डमा पहिरो खसेर बढी सडक अवरुद्ध हुने गर्छ । उक्त राजमार्गको दैखोला, सुनारखोला, पाल्तडा, पाली, गगनेखोलालगायतका ठाउँमा अत्यधिक पहिरो खस्ने गर्छ । यस्तै सुर्खेत–दैलेख सडकखण्डमा गुराँसे, रानीमत्ता, माथिल्लो डुङ्गेश्वर क्षेत्रमा वर्षायाममा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ भने छिन्चु–जाजरकोट सडक र सुर्खेत–दाङ सडकका विभिन्न भागमा पहिरो खस्ने गरेको छ । यसैलाई ध्यान दिई डोजरहरू तयारी अवस्थामा राख्नु परेको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । वर्षायाम नसकिएसम्म यी साधनसडकमा तयारी अवस्थामा रहने उहाँको भनाइ छ ।