• १७ असार २०८२, मङ्गलबार

बाँझो जग्गाबाट २० लाख बढीको किवी बिक्री गर्ने लक्ष्य

blog

सिरकोटमा गरिएको किवी खेती । तस्बिर : तिलाचन पाण्डे

 तिलाचन पाण्डे
तम्घास(गुल्मी), असार १७ गते ।
गुल्मीमा गत वर्ष १२ लाखको किवी बिक्री गरेका कृषकले यस वर्ष २० लाख बढीको बिक्री गर्ने लक्ष्य लिएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ सिरकोटमा वर्षौदेखि बाँझीएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर पाँच सय ४० रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा किवी खेती गरेका हुन् ।

गत वर्ष किवीबाट १२ लाख रुपियाँ आम्दामी गरेका कृषकहहरुले यस वर्ष २० लाख  रुपियाँभन्दा बढीको बिक्री गर्ने लक्ष्य लिएको कृषक लक्ष्मीपति न्यौपानेले बताउनुभयो । किवी खेतीलाई व्यवसायीक रुपमा अगाडि बढाउन र यसैबाट राम्रो आम्दामी गर्नका लागि आफूहरुले हरदम प्रयास गरेको उहाँको भनाइ छ ।  

उक्त स्थानमा  उत्पादन बढाउनका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ६५ हजार लिटर क्षमताको दुई वटा पोखरी निर्माण गरिदिएको छ ।  कार्यालय प्रमुख भरत सापकोटाका अनुसार कुल १० लाख रुपियाँको लागतमा पोखरी निर्माण गरिएको हो ।  किवी खेती पोखरी जल तथा पुर्नभरण कार्यक्रमबाट पोखरी निर्माण गरिएको बताउँदै यसबाट उत्पादनमा वृद्धि गर्नका लागि थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गत वर्ष सरदर प्रति किलो तीन सय रुपियाँका दरले किवी बिक्री गरेको अर्का कृषक चन्द्रकला पाण्डेले बताउनुभयो । किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको उहाँले बताउनुभयो । पहिले सिञ्चाइका लागि पानीको अभाव भएको बताउँदै यस वर्ष पोखरी बनेपछि उत्पादन बढ्नेमा आफूहरु ढुक्क रहेको उहाँले बताउनुभयो ।

वर्षौँदेखि बाँझीएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी  पाँच सय ४० रोपनी क्षेत्रफलमा छ हजार सात सय बिरुवा रोपण गरी व्यवसायीक रुपमा किवी खेती गरिएको उन्नतशिल कृषि फलफूल तथा पशुपन्क्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले बताउनुभयो ।

पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भए पनि पछि यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरुले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उहाँको भनाइ छ ।

आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि सम्भावना देखेर किवी खेती गर्ने आँट आएको यहाँका कृषकहरुले जनाएका छन्  । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्दै आएको कृषक गगन तरामुले बताउनुभयो ।

युवाहरुलाई विदेश जानुभन्दा पनि स्वदेशको माटोबाटै मनग्य उत्पादन र आम्दानी गर्न सकिने भएकाले अर्काको देशमा जानका लागि रहर नगर्न र स्वदेशमा नै रहेको सम्भावनाको खोजीमा लाग्न उहाँले सुझाव दिनुभयो । पैसा र आम्दानी खाडीमा भन्दा पनि स्वदेशकै झाडीमा रहेको उहाँको दाबी छ ।

२०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरुवात भएको मानिन्छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटर भन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ ।