• १६ असार २०८२, सोमबार

दुरी उही, भाडा फरक फरक

blog

नवलपरासी समाचारदाता

गैँडाकोट,  असार १६ गते । पूर्वपश्चिम नारायणगढ–बुटवल सडकखण्डमा अहिले यात्रा गर्दा एकतर्फी भाडा ३५० रुपियाँ लिने गरिन्छ । सो दुरीभन्दा कम रहेको कालीगण्डकी कोरिडोरको गैँडाकोटबाट रामपुर पाल्पासम्म यात्रा गर्दा  ९५० रुपियाँसम्म भाडा लिएर यात्रु ठग्ने काम भएको यात्रुको गुनासो छ । अत्यधिक भाडा दरका बारेमा जिल्ला प्रशासन र यातायात समितिलाई ध्यानाकर्षण गराए पनि अहिलेसम्म सुनुवाइ नभएको कोटथरका स्थानीय चेसराम आलेमगरले बताउनुभयो । चर्को भाडा घटाउन अनेकौँ पहल भए पनि भाडा नघटेपछि प्रशासनलाई समेत गुहारेको उहाँले सुनाउनुभयो । 

बुटवल–नारायणगढ सडकखण्ड ११४ किलोमिटरको एकतर्फी भाडा अहिले ३५० रुपियाँ कायम हुँदा गैँडाकोट बुलिङटार भएर पाल्पा रामपुरसम्मको ७० किलोमिटरको भाडा भने ९५० रुपियाँ कायम भएकाले स्थानीयले गाउँमा सवारी साधन रोक्न थालेका र भाडादर घटाउन माग गरेको बुलिङटारका समाजसेवी बेलबहादुर दरैले बताउनुभयो । 

 विगत एक वर्षदेखि गैँडाकोट भएर बुलिङटार हुँदै पोखरासम्मको यात्रा सुरु भएको र भाडा अचाक्ली असुल्न थालेपछि स्थानीयले मङ्सिर मसान्तभित्र भाडा दर नघटाए तत्काल गाडी चल्न नदिने गरी प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए पनि अहिलेसम्म भाडा नघटेको बुलिङटारका दुधराज मल्ल ठकुरीले बताउनुभयो ।

७० किलोमिटर कालोपत्रे सडकको भाडा  ९५० रुपियाँ कायम गरी सवारीसाधन बलजफ्ती चलाउनेमाथि ठाउँको ठाउँ कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । भाडा दर मिलाउन र मिलाइसकेपछि मात्र यातायात नियमित सञ्चालन गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । 

अहिले प्रतिकिलोमिटर १४ रुपियाँका दरले जबरजस्ती भाडा उठाउने गरेका छन् । प्रतिकिलोमिटर पाँच रुपियाँसम्म भाडा लिन बुलिङटार र बौदीकाली गाउँपालिकाका स्थानीयले माग गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । लेकबेँसी यातायात समितिले यो क्षेत्रमा बलजफ्ती भाडा उठाएर स्थानीयवासीलाई धेरै दुःख दिइरहेको र यस्तालाई कारबाही गर्न माग बढेको छ । 

अहिले प्रशासनले भाडा दर तत्काल समायोजन गरी सवारी साधन गुडाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । लेकबेँसी यातायात समितिका अध्यक्ष युवराज बस्यालले भने यसबारे कसैसँग कुरा नभएको बताउनुभयो । समितिका अन्य पदाधिकारीले भने भाडा दरमा परिर्वतन हुन आवश्यक रहेको बताएका छन् ।