• १६ असार २०८२, सोमबार

टिप्परको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

blog

अजय शाह
गौशाला (महोत्तरी), असार १६ गते ।
महोत्तरीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास–जलेश्वर मार्गको औरही नगरपालिका–८ टिम्कियास्थित सडकखण्डमा आइतबार साँझ टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले टिप्परको ठक्करबाट लोहरपट्टी नगरपालिका १ बगरा बस्ने १७ वर्षीय नितिश भगतको मृत्यु भएको जानकारी दिनुभयो । साथै उहाँले जनकपुर उपमहानगरपालिका ४ विश्वकर्मा चौक बस्ने ३० वर्षीय रुपेश भगत भने गम्भीर घाइते भएका बताउनुभयो ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको प्र.२–०३–००१ क १३९१ नम्बरको टिप्परले सोही दिशामा जाँदै गरेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुवै जनालाई तत्काल बर्दिवास अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले नितिशलाई मृत घोषणा गरेका थिए भने रुपेश भगतको उपचार बर्दिवास अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरको न्यूरो हस्पिटलमा रेफर गरिएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए । अहिले टिप्पर र चालक कमलामाई नगरपालिका १२ बस्ने सन्तलाल माझीलाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक भट्टले जानकारी दिनुभयो ।