• ९ जेठ २०८१, बुधबार

पहिरोले बस्तीमा त्रास

blog

गल्याङ नगरपालिका–३, लल्याङ बस्तीमुनिको पहिरो । तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा, असार ३ गते । गल्याङ नगरपालिका–३ को लल्याङका ८० घरपरिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् । विगत १० वर्षदेखि निरन्तर बगिरहेको पहिरोले पछिल्लो समय गाउँलाई जोखिममा पु-याएको हो । 

 सोही पहिरोका कारण चार सय जना विस्थापित हुने अवस्था आएको स्थानीय गोपालप्रसाद भट्टराईले बताउनुभयो । बुटवल पावर कम्पनी (बीपीसी)ले खनेको सुरुङका कारण पनि घर–बस्ती रहेको जमिन चर्किएको भट्टराई बताउनुहुन्छ । 

गाउँको पुच्छारबाट सुरु भएको पहिरोका कारण पानी पर्नेबित्तिकै स्थानीय त्रसित हुने गरेका छन् । जमिन भासिँदै बस्तीनजिकै आएकाले बस्ती सार्ने विषयमा अन्योल देखिएको छ । 

बस्ती नजिकैको खेतमा ठुल्ठूला धाँजा फाटेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । बस्तीको दुवैतिरबाट खोलाले घेरेको र भूबनोट कमजोर रहेकाले जमिन भासिँदै गएको छ । 

वडाध्यक्ष भट्टराईका अनुसार, पहिरो नियन्त्रणका लागि नगरपालिका र प्रदेश सरकारको सहकार्यमा दस लाख रुपियाँ बजेट छुट्ट्याइएको छ । 

पहिरो नियन्त्रणका लागि तटबन्धको काम पनि अगाडि बढाइएको छ तर पनि नियन्त्रण हुने सम्भावना देखिँदैन । उहाँले भन्नुभयो, “करोडभन्दा बढी बजेटको खाँचो छ ।” 

पहिरो रोकथामका लागि सम्बन्धित निकायले ध्यान नदिएमा ठूलो दुर्घटना भोग्नुपर्ने गुनासो स्थानीयवासीको छ ।