• १५ असार २०८२, आइतबार

धान दिवसमा उत्कृष्ट किसान सम्मानित

blog

सम्मानित किसानहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार १५ गते । जिल्लाका चार उत्कष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरिएको छ । 

कृषि ज्ञानकेन्द्र म्याग्दीले २२ औं धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा व्यावसायिक कृषि पेसामा संलग्न भएर जिल्लामै सफल किसानको पहिचान बनाएका चार जना कृषकलाई नगद दस-दस हजार रुपियाँ सहित सम्मान गरेको हो । 

आइतबार बेनी नगरपालिका-२, बगरफाँटमा आयोजना गरिएको धान दिवस तथा रोपाइँ महोत्सवमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री,कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सञ्जीव बाँस्तोला लगायतले किसानलाई नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । 

व्यावसायिक रूपमा ताजा तरकारी उत्पादन गर्ने बेनी नगरपालिका-२ निवासी कार्की कृषि फर्मका सञ्चालक चन्द्रबहादुर कार्की, बेनी नगरपालिका-७ का कृषि तथा पशुपालन फर्मका सञ्चालक कृष्णप्रसाद शर्मा, बेनी नगरपालिका-४, बाँस्कुनाका केसी सुन्तला तथा बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक केन खत्री र मालिका गाउँपालिका-७, बिम निवासी विषम कृषि तथा पशुपालन फर्मका सञ्चालक भुपेन्द्र शर्मालाई सम्मान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो । 

सम्मानले कृषिकर्ममा लाग्न थप उत्साहित बनाएको कृषक कृष्णप्रसाद शर्माले बताउनुभयो । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण, तालिम तथा प्राविधिक ज्ञानका बारेमा किसानलाई सम्बन्धीत निकायले थप सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा जिससका कार्यवाहक प्रमुख खत्रीले धान दिवसका अवसरमा ज्ञान केन्द्रले किसानलाई गरेको सम्मान र पुरस्कारले समग्र किसानको हौसला वृद्धि हुने बताउनुभयो । कृषि उत्पादन वृद्धि र बजारीकरणमा किसानलाई अझै सरकारी निकायको साथ र सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो । 

यसैगरी प्रगति बगरफाँट कृषक समुहको समन्वय र कृषि ज्ञानकेन्द्रको आयोजनामा बगरफाँटमा रोपाइँ महोत्सव गरिएको छ । नौमति बाजा सहित किसानको सहभागीतामा जनप्रतिनिधि,कर्मचारी र सर्वसाधारणहररूले नाचगान,धान रोपाइँ लगायतका कार्यक्रमहरू गरेर महोत्सव मनाइएको छ ।