• १५ असार २०८२, आइतबार

उत्कृष्ट कृषकहरू नगदसहित सम्मानित

blog

सम्मानित हुनुभएका उत्कृष्ट कृषकहरू । तस्बिरः सन्तोषी रावल

सन्तोषी रावल 

बाजुरा, असार १५ गते । धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको तीन उत्कृष्ट कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित कृषकमा बुढीनन्दा नगरपालिका–३ का रणबहादुर बोहरा (तरकारी खेती), बडीमालिका–८ का लालबहादुर अयडी (तरकारी खेती), र बुढीगङ्गा–१ की शुशिला थापा (बाख्रा पालन) रहेका छन् । 

उहाँहरूलाई जनही २५ हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम साहानीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले सम्मानित कृषकलाई बधाई दिँदै कृषि व्यवसायलाई थप प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सम्मानित हुनुभएका रणबहादुर बोहराले गाउँमै केही गर्नुपर्छ भनेर व्यावसायिक तरकारी खेतीमा लागेको भन्दै यो सम्मानले थप हौसला मिलेको बताउनुभयो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले धान दिवसको शुभकामना दिँदै दिनप्रतिदिन खेतीयोग्य जमिन बाँझो हुँदै गएकाले यहाँको आर्गनिक धान उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

कार्यक्रम बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सुरक्षा निकाय, जनप्रतिनिधि, पत्रकार, कर्मचारी तथा कृषकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख रमेश विकले गर्नुभयो ।