बबई समाचारदाता
बबई (बर्दिया), असार १५ गते । जिल्ला प्रहरी कार्यालय बर्दियाले नेपाल–भारत सीमा क्षेत्रको ८३ किलोमिटर सीमाक्षेत्रमा लागुऔषध नियन्त्रणका लागि फिरिया, एन्जल र ब्युटी (तीन वटा कुकुर) को प्रयोग गरेर सीमाक्षेत्रमा निगरानी गर्न सुरु गरेको छ । नेपालबाट भारतीय सीमावर्ती बजारमा जाने र भारतबाट फर्किंदा लागुऔषध लिएर फर्किनेको सङ्ख्या बढ्दै जाँदा प्रहरीले कुकुरको प्रयोग गरी सीमाक्षेत्रमा यात्रु र सवारीसाधनको परीक्षण गर्न सुरु गरेको हो ।
बर्दिया जिल्लामा प्रत्येक दिन जसो लागुऔषध ओसारपसारमा युवा पक्राउ पर्न थालेपछि प्रहरीले लागुऔषध प्रयोगकर्ता र विक्रेता दुवैलाई लक्षित गरेर निगरानी बढाएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा चार जना भारतीय नागरिकसहित ५० जना पक्राउ पर्दा आव २०७९/८० मा भने त्यो सङ्ख्या बढेर एक जना भारतीय नागरिकसहित ८८ जना पक्राउ पर्दा आव २०८०/८१ मा तीन जना भारतीय नागरिकसहित २०२ जना पक्राउ परेका थिए । यस आवमा पनि तीन जना भारतीय नागरिकसहित १९५ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले १२५ जनालाई मुद्दा दायर गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले नेपाल–भारत सीमाक्षेत्रको बर्दिया जिल्लाको बलैगाउँ, लौकाही, गुलरिया, तिकुनिया र राजापुरका सीमावर्ती क्षेत्रमा डग हेन्डलरमार्फत लागुऔषध ओसारपसार र विस्फोटजन्य पदार्थको निगरानी गर्न सुरु गरिएको बताउनुभयो ।
लागुऔषध ओसारपसारमा धेरै जसो युवा पक्राउ पर्ने गरेका छन् । कामको सिलसिलामा नेपाल–भारत सीमाक्षेत्रका भारतीय बजार जाने र उतैबाट लागुऔषध प्रयोग र खरिद गरेर फर्किनेको सङ्ख्यासमेत अत्यधिक देखिन्छ । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले नेपाल–भारत सीमाक्षेत्रको ८३ किलोमिटर सीमाक्षेत्र भारततर्फ कर्तनिया वन्यजन्तु आरक्ष भएकाले पनि लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने पनि बढ्दै जान थालेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले केही समययतादेखि जिल्ला प्रशासन कार्यालयले छिमेकी जिल्ला बाँकेबाट लागुऔषध कारोबारी बर्दियातर्फ सरेका हो कि भन्ने आशङ्कासमेत उब्जिएको बताउनुभयो ।
लागुऔषध नियन्त्रण गर्न बर्दिया जिल्लाका आठ स्थानीय तहले प्रशासन र प्रहरीसँग सहकार्य गर्दा पनि यसको नियन्त्रण हुन नसकेपछि नेपाल प्रहरीले फिरिया, एन्जल र ब्युटी नाम गरेका तीन वटा कुकुरको प्रयोग गरेर सीमाक्षेत्रमा निगरानी बढाएको छ ।