बुटवल समाचारदाता
बुटवल, असार १५ गते । बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा सडक किनारमा खनिएका ठुला खाल्डोमा पानी भरिँदा दुर्घटनाको जोखिम बढेको छ । सडक क्षेत्रका स्थानीयले सडक निर्माणको क्रममा गहिरो पारिएका खाल्डोमा पानी भरिँदा साना बालबालिका डुब्ने खतरा रहेको तथा तिनै खाल्डोमा सवारीसाधन पर्ने जोखिमसमेत बढेको भन्दै बुटवल–गोरुसिङ्गे सडक आयोजनाको ध्यानाकर्षण गराएका छन् ।
सडक आयोजनाको रुपन्देही र कपिलवस्तु क्षेत्रमा गठन गरिएको नागारिक निगरानी समूहले मनसुन अवधिभर उक्त सडक किनारको क्षेत्र जोखिममा रहेको भन्दै जोखिम कम गर्नेतर्फ आयोजनाको ध्यानाकर्षण गराएको हो । नागारिक निगरानी समूहका अध्यक्ष छविलाल पाठकले सडक किनार र पुल बनाउन खनिएका खाल्डोमा परेर मानवीय जोखिम बढेको बताउनुभयो । उहाँले पुल बनाउने क्रममा खनिएको माटोका कारण खोलामा बाढी आउँदा खेत र बस्तीसम्मै पुग्ने अवस्था देखिएकाले पूर्वसतर्कता आवश्यक रहेको बताउनुभयो ।
उहाँले मनसुनको समयमा उत्पन्न हुन सक्ने जोखिमलाई लिएर आयोजनालाई जोखिम क्षेत्रमा छिटो काम गर्न आग्रह गरेको बताउनुभयो ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवलका प्रमुख कुशलता न्यौपानेले सडक किनारमा थुपारिएको माटो तथा खनिएको खाल्डोका कारण जोखिम बढेको उल्लेख गर्दै जोखिम कम गरेर काम गर्न निर्माण पक्षलाई आग्रह गरिएको बताउनुभयो ।
नागरिक निगरानी समूहले सडक विस्तारका क्रममा वरपिपल तथा स्वामीका रुख काटिएकोमा सडक क्षेत्राधिकार बाहिर तिनै प्रजातिको रुख वृक्षरोपण गरेको छ । नागरिक निगरानी समूहका सदस्य ऋषि आजादले बुटवलको जितगढीस्थित पाणिनि उद्यान समितिको क्षेत्रमा उक्त बिरुवा रोपिएको बताउनुभयो ।
नागरिक निगरानी समूहका अध्यक्ष पाठकले वरपिपल, शमी, श्रीखण्ड र निमको बिरुवा लगाउन सडक किनारका स्थानीय बासिन्दालाई आग्रह गरेको बताउनुभयो ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा सडक किनारमा रहेका करिब तीन सय वरपिपलका रुख काटिएका थिए । आयोजनाका न्यौपानेले ५० किलोमिटर सडकखण्ड अन्तर्गत सडक क्षेत्रभित्र परेका करिब सात हजार रुख काटिएको बताउनुभयो । त्यसमध्ये करिब तीन सय वरपिपलका रुखसमेत काटिएको हो ।
विसं २०१९ मा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो । सडक निर्माण सुरु भएको करिव चार महिनामा १० प्रतिशत भौतिक प्रगति भएको छ ।