नन्द सिंह
रलिङ (हुम्ला), असार १५ गते । हुम्लाको चङ्खेली गाउँपालिकाका बासिन्दालाई मोबाइलमा कुरा गर्नु पर्दा रुखमा चढ्नुपर्ने बाध्यता छ । सदरमुकाम सिमकोटबाट करिब ४८ कोष टाढा रहेको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिकाका स्थानीयवासीलाई अहिले पनि रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाले पायक पर्ने स्थानमा टावर नराखेका कारण होचो खोचमा रहेको गाउँबस्तीमा सहज रूपमा फोन नलाग्ने समस्या छ । पटक पटक सरोकारवालालाई समस्या दर्शाउँदा पनि समाधान नभएको स्थानीयवासीको गुनासो छ । बर्सौंदेखिको नेटवर्क समस्या यथावत् रहेको पीडा उहाँहरूसँग छ । गाउँपालिका केन्द्र मात्रै नभएर प्रायः ठाउँका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता छ ।
स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको स्थानीय बसुना तामाङले गुनासो गर्नुभयो । सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए/नभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने तामाङको गुनासो छ । गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले फोरजी टावर निर्माण प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
पालिककै मेलछाममा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा समस्या आउँदा सूचना आदनप्रदानमा समस्या भएको छ । चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा अझै सञ्चार सुविधा छैन । गाउँपालिका केन्द्र सञ्चारविहीन अवस्थामा रहँदा दैनिक काममा समेत प्रभाव परिरहेको छ । गाउँपालिकाका विभिन्न स्थानमा टेलिफोन टावर भए पनि गाउँपालिका केन्द्रमा कुनै पनि सञ्चार कम्पनीको टावरले काम नगरेका कारण अझै गाउँपालिका केन्द्र सञ्चार सम्पर्कबाट टाढा छ । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो ।
गाउँपालिका कार्यालयमा राखिएको टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता पनि छ । जनताका गुनासा र समस्या धेरै जसो फोनमै समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधारणले गाउँपालिका नै धाउनुपर्ने बाध्यता रहेको अध्यक्ष शाहीको भनाइ छ । गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरलाग्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताउनुभयो । गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समयसम्म गाउँपालिका केन्द्रमा बैङ्कको शाखासमेत खुल्न सकेको छैन ।
सूचना र सञ्चारका अभाव रहेको गाउँपालिकामा टेलिफोनको टावरमा समस्या आउँदा गाउँपालिकामा हुने विभिन्न कामसमेत ठप्प हुँदै गएका छन् । गाउँपालिकाको केन्द्रमा टेलिफोनको समस्या भएपछि गाउँ र जिल्लाबाहिर भएका नागरिकलाई सम्पर्क गर्नसमेत समस्या भएको छ । पालिका केन्द्रमा टेलिफोनको समस्या आएदेखि दुई घण्टा पैदल हिँडेर दार्माबाट टेलिफोन गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।