• १५ असार २०८२, आइतबार

धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्नुपर्छ : उपराष्ट्रपति यादव

blog

काठमाडौँ, असार १५  गते ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

उपराष्ट्रपति यादवले २२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सबै मिलेर दिगो कृषि प्रणाली स्थापनातर्फको यात्रामा दृढतापूर्वक अघि बढ्दै खाद्य सुरक्षाको मेरुदण्डलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउन जरुरी रहेको उपराष्ट्रपति यादवको भनाइ छ । 

“जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूल बीउको प्रयोग, पानीको व्यवस्थापन र जैविक मलको प्रयोगलाई प्राथमिकता दिँदै जलवायुमैत्री कृषिकर्मलाई प्रवर्द्धन गर्न उत्तिकै आवश्यक छ । धान आयात घटाउने रणनीतिका साथ अघि बढ्दै नेपालमा वार्षिक रूपमा अर्बौँ रुपैयाँ बराबरको चामल आयात रोक्न जरुरी छ”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ । 

धान उत्पादन बढाउने, भण्डारणमा सुधार र बजारमा पहुँच विस्तार गर्ने नीतिको सशक्त कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले बीउमा अनुदान, सिँचाइ सुविधामा वृद्धि, कृषक परिचयपत्र र बीमाजस्ता कार्यक्रमलाई थप प्राथमिकतमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

यो दिवस आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यसहित उन्नत कृषि प्रणालीको विकास र आधुनिकीरणप्रतिको दृढसङ्कल्पको प्रतीकका रूपमा लिइन्छ । किसानका सीप, निरन्तर श्रम र धैर्यलाई सम्मान गर्दै कृषि क्षेत्रलाई समृद्ध, उत्पादनमुखी र जलवायु अनुकूल बनाउन यो दिवसले सबै नेपालीलाई अभिप्रेरित गर्दछ । धान, हाम्रो खाद्य सुरक्षाको मेरुदण्ड र कृषि अर्थतन्त्रको आधारस्तम्भ हो । धानबालीमा स्थानीय जातहरूको संरक्षण र उन्नत प्रविधिको प्रयोग गर्दै जलवायु अनुकूल, उत्पादनमुखी तथा समावेशी कृषि प्रणाली अङ्गीकार गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । 

“विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त, उत्पादनशील र पोषणयुक्त जातको धान प्रवर्द्धनमा जोड दिनुपर्दछ, किसानप्रतिको सहानुभूति र सम्मान अभिव्यक्त गर्न सरकारले अवलम्बन गरेको कृषिनीति कृषिको आधुनिकीकरण, जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन, व्यवसायीकरण र किसानको सामाजिक सुरक्षामा केन्द्रित कार्यक्रम धान उत्पादनमा वृद्धि तथा किसानको जीवनस्तर उकास्ने नीतिबाट अभिप्रेरित छन्”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ । रासस