• १५ असार २०८२, आइतबार

हिउँदमा आनन्द, बर्खामा चिन्ता

blog

 शेरबहादुर सार्की 

बाजुरा, असार १५ गते । बाढीपहिरोबाट उच्च जोखिममा रहेका बाजुराका अधिकांश गाउँबस्तीका स्थानीयको चिन्ताको दिन सुरु भएको छ । यहाँको बुढीगङ्गा, खप्तडछेडेदह, त्रिवेणी, गौमूल, बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाकालगायतका झन्डै १३५ बस्ती लामो समयदेखि बाढीपहिरोको उच्च जोखिममा रहँदै आएका छन् । 

गाउँको तलमाथि वरिपरिबाट थोरै पानी परे पनि पहिरो बग्ने गरेकाले यहाँका स्थानीयलाई बर्खाको समय पहिरोले बस्ती नै छापिने हो कि भन्ने डर हुने भएपछि अब बर्खा लागेसँगै उनीहरूका चिन्ताको दिन सुरु भएको छ । 

गाउँको माथिबाट निरन्तर पहिरो बगिरहन्छ । अब बर्खा लागेपछि त्यो घरमा कसरी बास बस्ने भन्ने चिन्ता सुरु हुन भएको खप्तडछेडेदह गाउँपालिका–३, धनाल्त धुर्तोलाका धनबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँनजिक धनाल्तको ठुलो पहिरो छ । त्यो पहिरो हिउँदमा रोकिन्छ । बर्खाको समय फेरि बग्न सुरु हुन्छ । त्यसका डर छ तर आर्थिक अभावका कारण अन्य कतै जान सकेको छैन ।” 

“हिउँदका महिना आनन्द मनले घरमा बास बस्ने गरेको थिए,” अब बर्खा लाग्यो अनि चिन्ता पनि सुरु भएको रावतले बताउनुभयो । यो चिन्ता धनाल्तका धनबहादुर रावतको मात्र होइन, यहाँका नाइना, गुइवन, बजेडी र अम्कोटवासीको पनि उस्तै छ । यहाँका स्थानीयले त बर्खाको समय पानी पर्नेबित्तिकै घर छोडेर चौरमा त्रिपाल हाल्ने गर्दछन् । उनीहरूको हिउँदमा घर र बर्खाको समय चौरको त्रिपालको बास हुने गरेको छ । 

बजेडीगाउँ लामो समयदेखि पहिरोको जोखिममा रहेकाले यहाँ बर्खाको समय यो बस्तीका स्थानीयलाई भाग्न सहज हुने गरी साइन जडान गरिएको हो । स्थानीय सरकारले यी बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासनलाई पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले जोखिमका बस्तीलाई स्थानान्तरणका लागि गृह मन्त्रालयमा माग गर्दै आएको छ ।

सधैँ बर्खामा गाउँ छोडेर माथि डाँडामा त्रिपाल हालेर बस्नु पथ्र्यो तर गत वर्षको बर्खामा भने गाउँमा साइन जडान गरिएकाले त्यसैको सहारामा कतै नगएर घरमै बसेको बुढीगङ्गा नगरपालिका–२, बजेडीका स्थानीय गोपाल लुहारले बताउनुभयो ।

बाजुरामा झन्डै १३५ भन्दा बढी गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा छन् । यी बस्तीलाई विगतका केही वर्षदेखि नै स्थानान्तरण गर्नेुपर्ने हो तर अहिलेसम्म ती बस्ती कतै स्थानान्तरण भएका छैनन् । यता बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारका लागि यतिबेला अस्थायी टहरा निर्माणका लागि झन्डै छ करोड रुपियाँ आएर स्थानीय तहको खातामा राखिदिएको जिल्ला प्रशासनका कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

सडकको चिन्ता

यता बर्खा लागेसँगै बाजुरावासीलाई सडककै चिन्ता हुने गरेको छ । यहाँको साँफे–मार्तडी सडक अन्तर्गतको बल्दे–अम्मकोट र मार्तडी–कोल्टी सडकको जिल्लीमा थोरै पानी परे पनि सडकमा पहिरो जाने गरेको छ । 

यता बाउली–अनाई–बाउली र दानसाँगुखोलामा समेत पक्की पुल नहुँदा यहाँ पनि बर्खाको समय खोला तर्न निकै समस्या हुने गरेको छ । खोलामा पक्की पुल निर्माण नहुँदा बर्खाको समय सडक अवरुद्ध हुने गरेको छ । बर्खाको समय थोरै पानी परे पनि यहाँका सडक अवरुद्ध हुने गरेको बुढीनन्दा नगरपालिका स्थानीय रामबहादुर कार्कीले बताउनुभयो ।