• १५ असार २०८२, आइतबार

धान उत्पादन राष्ट्रिय आवश्यकता हो : प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा । फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, असार १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले धान उत्पादन राष्ट्रिय आवश्यकता र दिगो समृद्धिको अनिवार्य सर्त भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा आइतबार शुभकामना दिनुहुँदै नेपाल कृषिप्रधान देश भएकाले धान हाम्रो मुख्य बाली भएको उहाँले बताउनुभयो । 

‘हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले आम कृषकलाई सम्मान, कृषि प्रणालीमा नवप्रवर्तन र खाद्य सुरक्षाको सुनिश्चित्ता तर्फको साझा प्रतिवद्धतालाई स्मरण गराउँछ, सम्पूर्ण मेहनती किसान दाजुभाइ तथा दिदीबहिनीलगायत सबैमा धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को हार्दिक शुभकामना प्रकट गर्दछु’ उहाँले भन्नुभएको छ ।

वर्षभरको कृषि कर्मको आधारशिला स्वरूप सुरु हुने रोपाइँको यस सन्दर्भमा कृषकहरूको श्रम, प्रकृतिसँगको सहकार्य र इतिहास तथा परम्परागत संस्कृतिको जगेर्ना एकसाथ गर्न शुभकामना सन्देश दिनुभएको छ । धान केवल अन्नबाली नभइ समाजको भावनात्मक, सांस्कृतिक र आर्थिक संरचनाको मेरुदण्ड, श्रम, आशा र भरोसाको प्रतीक भएको उहाँले स्पष्ट पार्नुभएको छ । 

वर्तमान परिवेशमा कृषि क्षेत्रले विविध चुनौतीहरू व्यहोर्दै आइरहेको बताउँदै उहाँले जलवायु परिवर्तनको असर, खेतीयोग्य जमिनको ह्रास तथा खण्डीकरण, खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्ति, युवाहरूको कृषिप्रतिको घट्दो आकर्षण, उन्नत बीउ, मल खाद र सिँचाइको कमी, कृषिमा लगानीको अभाव आदि समस्याहरूले थप संवेदनशील बनाएका उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

सोचाइ, नीति, प्रविधि, अनुसन्धान र व्यवहारमा आमूल परिवर्तन हुनु नितान्त आवश्यक भएको उहाँले बताउनुभएको छ । कृषकमैत्री नीति निर्माण, बीउ, मल खाद र सिँचाइमा पहुँच, आधुनिक उपकरणको प्रयोग, बजार सुनिश्चित्ता, बिमा तथा अनुदानमा प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

राष्ट्रिय धान दिवसले सम्पूर्ण कृषक समुदायमा थप उत्साह, आत्मबल र समर्पणको भावना जागृत गराउने अपेक्षा उहाँले राख्नुभएको छ । धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने राष्ट्रिय नारासाथ आज २२ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवका रूपमा मनाइँदैछ । मानो रोपेर मुरी उब्जाउने लक्ष्य बोकेको आजको दिनले आशा, कर्मप्रतिको भरोसा, प्रकृतिसँगको अटुट सम्बन्ध र सिर्जनालाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ छ । ‘हरेक किसानका लागि कर्म, स्वाभिमान, सहकार्य र समृद्धिको सन्देशवाहक बनोस्’ प्रदेशमा प्रमुख देवकोटाले भन्नुभएको छ ।