• १५ असार २०८२, आइतबार

बिमामा बढ्न सकेन आकर्षण

blog

डोटी समाचारदाता

डोटी, असार १५ गते । सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिए पनि सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्न सकेको छैन । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०/८१ कुल जनसङ्ख्याको २२ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमाबारे ग्रामीण क्षेत्रका नागरिकमा पर्याप्त सूचना तथा जानकारीको अभाव, स्वास्थ्य बिमा गरिने स्थान तथा व्यक्तिबारेमा सर्वसाधारणमा पहुँच नहुनुलगायतका समस्याका कारण स्वास्थ्य बिमामा आकर्षण बढ्न सकेको छैन ।

स्वास्थ्य बिमा कार्यक्रम अलि व्यावहारिक र वैज्ञानिक नभएका कारण पनि स्वास्थ्य बिमामा सबैको आकर्षण बढ्न नसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले बताउनुभयो । उहाँले भन्नुभयो, “एक पटक बिमा गरे पनि नवीकरण नगर्नेहरू धेरै देखिएका छन् । स्वास्थ्य बिमाको विषयमा आमनागरिकले सही सूचना पनि पाउन सकेका छैनन् । देशले स्वास्थ्य बिमामा झन्डै ४४ अर्ब रुपियाँ खर्च गर्छ तर करिब चार अर्ब रुपियाँ मात्रै आम्दानी भइरहेको छ ।”

आव २०८०/८१ मा स्वास्थ्य बिमा बोर्डले प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार राष्ट्रियस्तरमा २८ प्रतिशतले स्वास्थ्य बिमा गरेको उल्लेख गरिएको छ । कोशी प्रदेशमा ४९ प्रतिशत, मधेशमा १० प्रतिशत, गण्डकीमा ४५ प्रतिशत, बागमतीमा ३१, कर्णालीमा २८ र लुम्बिनीमा २३ प्रतिशतले स्वास्थ्य बिमा गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रमसम्बन्धी पर्याप्त ज्ञान र सिपयुक्त जनशक्ति अभाव, बिमितलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित हुन नसक्नुलगायत स्वास्थ्य बिमाप्रति बिमितको असन्तुष्टि बढेका कारण राष्ट्रिय बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भएको वार्षिक प्रतिवेदनमा भनिएको छ । स्थानीयस्तरमा स्वास्थ्य बिमा कार्यका लागि नियुक्त गरिएका जनशक्ति पहुँचकै आधारमा नियुक्ति गरिएका कारण पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य बिमाबाट विपन्न वर्गले फाइदा लिन नसकेको धेरैको गुनासो छ । 

डोटीको पूर्वीचौकी गाउँपालिका–२, बग्लेगका स्थानीय त्रिलोक ठकुल्लाले भन्नुभयो, “स्वास्थ्य बिमाका लागि नियुक्त गरिएका एजेन्ट कोही शिक्षक छन्, कोही राजनीतिक दलका कार्यकर्ता छन् । बिमा गर्नु पर्छ भन्ने बुझेकाले पनि बिमा गर्न पाएका छैनन् । स्वास्थ्य बिमाका लागि नियुक्त कर्मचारीले घरदैलो गरेर भए पनि जानकारी दिनु पर्छ ।”