• १५ असार २०८२, आइतबार

जनमत पार्टी किसानको साथमा: डा. राउत

blog

निःशुल्क कृषि विद्युतीकरणको ट्रान्सफर्मर जडान कार्य शुभारम्भ गर्नुहुँदै डा. सिके राउत । तस्बिर : सुधा देव

भारदह समाचारदाता

भारदह (सप्तरी), असार १५ गते । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सप्तरी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य डा. सिके राउतले किसानको हक अधिकार स्थापित गराउनकै लागि जनमत पार्टीको उदय भएको बताउनुभएको छ ।

सप्तरीको बलानबिहुल गाउँपालिका–१ मा शनिबार कृषि विद्युतीकरणको ट्रान्सफर्मर जडानको शिल्यानास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले किसानले उठाउँदै आएका मुद्दाको सवालमा आफूले ती मुद्दाको सम्बोधनका लागि केन्द्रीय तहमा दबाब दिएको उल्लेख गर्नुभयो ।

मधेशमा कृषिको पर्याप्त सम्भावना भए पनि सिँचाइको अभावमा किसानको परिश्रम अनुसार उत्पादन हुन नसकेको भन्दै उहाँले निःशुल्क सिँचाइका लागि काम अगाडि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मधेशमा उर्वर माटो भएकाले पर्याप्त सिँचाइ गरी उत्पादन बढाएर युवालाई आफ्नै देशमा रोजगारी दिन सकिने व्यवस्था गर्नु पर्छ । मधेश प्रदेशमा पर्याप्त सम्भावना रहेकोले उत्पादन बढाउन किसानलाई मल र बिउ सहज रूपमा न्यूनतम मूल्यमा उपलब्ध गराउन आवश्यक छ ।” प्रदेश सरकारको ८० प्रतिशत र स्थानीय सरकारको २० प्रतिशत गरी एक करोड रुपियाँको लगानीमा यस वर्ष पालिकाको दुई स्थानमा निःशुल्क कृषि विद्युुतीकरणमार्फत किसानलाई निःशुल्क सिँचाइ उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो ।