अमरराज नहर्की
तनहुँ, असार १४ गते । रासायनिक मल र विषादीको प्रयोग बिनै उत्पादन बढाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक किसान बन्नु भएको छ । व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले पाङ्गरिक प्रविधिबाट खेती गरी उत्पादन बढाएर मनग्य आम्दानी गर्नु भएको हो ।
गौलीले सञ्चालन गरेको ‘माँ अम्बे अलौकि कृषि फर्म’ मा लगाइएको सिउँडी फल (ड्रागन फ्रुट) विषादी र रासायनिक मल प्रयोग नगरी राम्रो फलेको छ । व्यावसायिक किसानहरुलाई बजारमा रासायनिक मल र विषादी अभाव हुँदा त्यस्ता किसानलाई निकै छटपटाहट हुने गरेको बेला किसान गौली पाङ्गरिक मल र जैबिक विषादीको प्रयोग गरेर उत्पादन बढाईरहनु भएको छ ।
उहाँले लगाउनु भएको फलफूल तथा तरकारी खेतीमा रासायनिक विषादीबिना पनि उत्पादन सम्भव छ भन्ने उदाहरण पेस गरिरहनु भएको छ । प्राङ्गारिक खेतीबाट लगानी उठाउन कुनै गाह्रो नपर्ने किसान गौलीको भनाइ छ । गोबर मल, घाँसपात कुहाएर बनाएको मल प्रयोग गर्ने गरेको र फलफूल तथा तरकारीमा लाग्ने किरा तथा फट्याङ्ग्रा हटाउन गाईको मुत्र, तितेपानी, काँजोपात, असुरोको पात मिसाएर बनाएको झोलबाट नियन्त्रण गर्न सकिएको गौलीले बताउनुभयो ।
स्थानीय उहाँले उत्पादन गरेको सिउँडी फल ग्राहक बारीमै आएर टिपेर लैजाने गरेका छन् । किन्न ग्राहक बारीमै पुग्छन् । स्थानीयले पाङ्गरिक प्रविधिबाट खेती गरेको देखेकोले धेरै ग्राहक फर्म आएर लैजाने गरेको गौलीले बताउनुभयो । फल बारीमै बिक्री हुन थालेपछि गौली उत्साहित बन्नुभएको छ ।
ड्रागनका पारखी खरिदका लागि बारीमै पुग्ने र टिकटक बनाउनेको भिड लागेपछि महिला उद्यमी गौली दङ्ग पर्नुभएको छ । लस्करै मिलाएर लगाइएको सिउँडीको आकर्षण फल र फूलले धेरै मन जितेकाले टिकटक बनाउने, सेल्फी खिच्ने र फल किनेर लैजाने गरेका छन् । आफूले उत्पादन गरेको पाँच सय किलो ड्रागन फल प्रतिकिलो पाँच सय रुपियाँमा बारीबाटै किनेर लगेको गौलीले बताउनुभयो । तीन दिनमा दुई लाख ५० हजार रुपियाँको बिक्री भएको गौलीले जानकारी दिनुभयो । पूर्ण रूपमा प्राङ्गरिक तरिकाले खेती गरिएकाले ग्राहक किन्न बारीमै आएको गौलीले बताउनुभयो । टिकटक बनाउने र फोटो तथा सेल्फी फोटो खिचेर फेसबुकमा राख्ने बढिरहेकाले यसले कृषि व्यवसाय गरुँगरुँ भन्ने भावनाको विकासमा टेवा पुगेको गौली बताउनुहुन्छ ।
नेपालमा सफलता पाउँदै गरेको रेड सी प्रजातिको ड्र्यागन गौलीले लगाउनुभएको छ । सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटले उत्पादन दिने भएकाले खेती गर्न सहज हुने उहाँले जानकारी दिनुभयो । ड्रागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ । एक पटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको गौलीले जानकारी दिनुभयो । गौलीले भन्नुभयो, ‘‘विषादीले मानव स्वास्थ्य, वातावरण, जैविक विविधता, माटो आदिलाई असर पार्ने भएकोले पाङ्गरिक तरिकाबाट खेती गरको हुँ ।’’