• १४ असार २०८२, शनिबार

सामुदायिक वन इको पार्कस् पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

blog

बर्दघाटको पारिजात सामुदायिक वन इको पार्कमा स्थानीयको श्रमदानमा सहभागी बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगायत । तस्बिर :

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार १४ गते ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको पारिजात सामुदायिक वन इको पार्क पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको स्थल हो । प्राकृतिक सौन्दर्य र हरियालीले भरिपूर्ण यो पार्क स्थानीय तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना छ ।

यस सामुदायिक वनको इको पार्कमा सरसफाइ तथा मर्मतसम्भारका लागि स्थानीय बासिन्दाहरू श्रमदानमा जुटेका छन् । इको पार्कलाई अझ सुन्दर, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जनप्रतिनिधि, स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागितामा गरिएको यस श्रमदानमा पार्कभित्रका झाडी सरसफाइ, फोहोरमैला व्यवस्थापन, बिरुवाहरूको गोडमेल र पार्कका विभिन्न संरचनाहरूको मर्मतसम्भार लगायतका कार्यहरू गरिएका छन् ।

सामुदायिक भावना र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै गरिएको यस श्रमदानले पारिजात सामुदायिक वन इको पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा थप आकर्षित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ । स्थानीय बासिन्दाहरूले श्रमदान गरी पार्कको सरसफाइ र मर्मतसम्भारमा जुटेकोले यसको संरक्षण र विकासमा समुदायको अपनत्व पनि झल्काउँछ । यस्ता अभियानहरूले स्थानीय पर्यटकीय स्थलहरूको संरक्षण र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने तथा समुदायमा अपनत्वको भावना बढाउने अपेक्षा गरिएको छ ।

यद्यपि, यस पार्कको पूर्ण पर्यटकीय सम्भावनालाई उजागर गर्न थप योजनाबद्ध विकास र प्रचारप्रसार आवश्यक देखिन्छ । आवश्यक पूर्वाधार निर्माण, सुरक्षा व्यवस्था र पहुँच मार्गलाई सहज बनाउन सकेमा पारिजात सामुदायिक वन इको पार्क पश्चिम नवलपरासीकै एउटा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ ।