• १४ असार २०८२, शनिबार

हरेक निर्वाचन क्षेत्रमा आवासीय विद्यालय

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, असार १४ गते । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै प्रदेश निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न आवासीय विद्यालय बनाउने भएको छ । प्रदेश सरकारले  स्थानीय तहको साझेदारीमा ‘एक प्रदेश निर्वाचन क्षेत्र एक आवासीय सुविधासहितका विद्यालय विकास’ कार्यक्रम सञ्चालन गर्ने भएको हो । यसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ करोड रुपियाँ बजेटको व्यवस्था गरेको छ । कर्णालीमा २४ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । यी सबै निर्वाचन क्षेत्रमा प्रदेश सरकारले सुविधासहितका ठुला आवासीय विद्यालय बनाउन लागेको हो ।

यस्तै प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि बजेटको व्यवस्था गरेको छ । सरकारले आगामी आवमा प्रदेशका ३९० वटा विद्यालयको भौतिक सुधार तथा विकासमा सहयोगका लागि बजेटको व्यवस्था गरेको छ ।  सामुदायिक विद्यालयको पठनपाठनमा सहज बनाई गुणस्तरीय शिक्षा सुनिश्चितका लागि विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक स्तर सुधार कार्यलाई सरकारले प्राथमिकता राखेको छ । विगतमा प्रदेश सरकारले सुरु गरी निर्माण हुन नसकेका अधुरा भवन निर्माणलाई पूर्णता दिन आगामी आवमा बजेटको व्यवस्था गरेको छ । अधुरा भवन निर्माणका लागि प्रदेश सरकारले १५ करोड बजेटको व्यवस्था गरेको हो ।   

यस्तै सार्वजनिक शिक्षामा सुधार गरी नतिजामुखी गराउन एसइई विद्यार्थी डिजिटल शिक्षा सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न डिजिटल शिक्षा कार्यक्रम सहयोग गर्ने भएको हो । प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाई प्रतिस्पर्धी एवं दक्ष जनशक्ति उत्पादन गर्न मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ । यी दुवै कार्यक्रमका लागि प्रदेश सरकारले १६ करोड रुपियाँ बजेट छुट्याएको छ ।