सिँजा समाचारदाता
सिँजा (जुम्ला), असार १४ गते । पातारासी गाउँपालिका–३ स्थित मालिका माध्यमिक विद्यालय लौठचौरले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता बढाउन शैक्षिक बहस कार्यक्रम गरेको छ । शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालासँग शैक्षिक बहस कार्यक्रम गरेको हो । सामुदायिक विद्यालयप्रति अभिभावकको सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
सामुदायिक विद्यालयमा अभिभावकको उपस्थिति र चासो न्यून हुँदै गएको शिक्षकको गुनासो छ । आफ्ना बालबालिका अध्ययन गर्ने शैक्षिक संस्थामा अभिभावकले चासो नदिँदा शिक्षण सिकाइ प्रभावित हुने गरेको जनाइएको छ । मालिका माविका प्रधानाध्यापक जगतबहादुर शाहीले अभिभावक सचेत भएमा बालबालिका नियमित रूपमा विद्यालय आउने र सिकाइ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले सामुदायिक विद्यालयको अवस्था अभिभावकले बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयमा अभिभावकको उपस्थिति बढेमा पठनपाठन नियमित हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र रेग्मीले सामुदायिक विद्यालयप्रति अभिभावकको चासो र निगरानी अपरिहार्य रहेको धारणा राख्नुभयो ।