• १४ असार २०८२, शनिबार

गलकोटका विद्यालयमा शुद्ध पानीका लागि ‘आरो विधि’ जडान

blog

गलकोट माध्यमिक विद्यालयमा जडान गरिएको ‘आरो विधि’को अवलोकन गर्नुहुँदै नगरप्रमुख भरत शर्मा गैर र उपप्रमुख फमलाल निउरे । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असार १४ गते ।
बालमैत्री गलकोट नगरपालिकाका १५ विद्यालयमा शुद्ध पानीका लागि ‘आरो विधि’को खानेपानी जडान गरिएको छ । आरो विधिले पानीको शुद्धिकरण गरेर सिधै धाराबाटै पिउन योग्य बनाइएको छ ।

विद्यालयका बालबालिकाले उपभोग गर्दै आएको पानी परीक्षण गरेपछि शुद्धिकरणका लागि सुझाव आएपछि मुलको पानीलाई पिउन योग्य बनाइएको हो । गलकोट नगरपालिकाले चालु आर्थिक वर्षको २० लाख रुपियाँ लागतमा माध्यामिक तह सञ्चालन भएका सबै विद्यालयमा ‘आरो विधि’को धारा निर्माण गरेको हो ।

पहिलो चरणमा माध्यमिक तहका विद्यालयमा सञ्चालन भएको यो विधि क्रमशः सबै विद्यालयमा पु¥याउने नगरपालिकाको योजना छ । ‘‘हरेक बालबालिकाले शुद्ध पानी पिउन पाउनुपर्छ भन्ने मान्यताका साथ ‘आरो विधि’ जडान गरेका छौं’’ गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भन्नुभयो, ‘‘एउटै विद्यालयमा आधादर्जन धारा पनि जोडिएका छन्, जुन अपाङ्ग र बालमैत्री समेत छन् ।’’

बालमैत्री नगरपालिका घोषणापछि दिगोपनाका लािग धेरै प्रकारका सूचकहरु पूरा गर्नुपर्ने कानुनी र व्यवहारिक बाध्यता छन् । ती सूचकहरु भौतिक निर्माण, शिक्षा र स्वास्थ्यमा बढी छन् । स्वास्थ्यमा त शुद्ध पानी खाने विधि नै पहिलो भएकाले लगानी गरेर विद्यालयहरुमो ‘आरो विधि’ जडान गरिएको गैरेले जानकारी दिनुभयो ।

दुई वर्षअघि गलकोटलाई बालमैत्री नगर घोषणा गरिएको थियो । बालमैत्री नगर दिगोपनाका लागि आवस्यक सूचक पूरा गर्ने क्रममा शुद्ध पानीको आवस्यकता देखेर लगानी गरिएको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताउनुहुन्छ । यसअघि अधिकांश बालबालिकाहरुले सिधै मुलको पानी खाने गर्थे । प्राविधिक रुपमा परीक्षण गर्दा मुलको पानी आवस्यकता अनुसारको शुद्धता नपाएपछि हरेक विद्यालयमा कम्तिमा दुई वटा ट्याङ्की राखेर पानी वितरण गरिएको छ ।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा दुई वटासम्म प्लान्ट जडान गरिएको छ । ‘आरो विधि’को पानी खान पाएपछि पूर्ण स्वास्थ्य र पूर्ण सरसफाइको सूचकमा पनि गलकोट अब्बल बन्ने भण्डारीले विश्वास व्यक्त गर्नुभयो । बालमैत्री नगर घोषणाअघि वडा तहमा पूर्ण सरसफाइ घोषणा पनि सुरु भएको थियो । अझै त्यो अभियान भने पूरा भएको छैन । तर खानेपानीका मुहान शुद्ध बनाएर हरेक घरमा वितरण गरिने पानीलाई शुद्धिकरण गर्ने काममा भने नगरपालिकाले वडा तहदेखि नगरस्तरीय योजना पनि बनाइरहेको भण्डारीले बताउनुभयो ।