छवि पाण्डे
बुटवल, असार १४ गते । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । मुलुकमै सबैभन्दा ठुलो र अत्याधुनिक सुविधासहितको सरकारी अस्पताल बनाउने उद्देश्यसाथ निर्माण भइरहेको यो भवनले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको छ ।
निर्माण कार्यको जिम्मा लिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । यो निर्माण सुरु भएको करिब चार महिनाको अवधिको तथ्याङ्क हो ।
मुख्य संरचना बेसमेन्टसम्म तयार हुनुका साथै क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँबायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ । प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले दोस्रो बेसमेन्टको ढलान सकिएको र लेफ्टविङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै क्यान्सर उपचार भवनको र्याफ्ट फाउन्डेसनको ढलानसमेत पूरा भइसकेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलले हालसम्मको कार्ययोजनाका प्रगति तुलना गर्दा काम निर्धारित ढाँचामा अघि बढेको बताउनुभयो । कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा यो आयोजना तोकिएको समयभन्दा अघि नै सम्पन्न हुने इन्जिनियर पोखरेलको भनाइ छ ।
छ अर्ब अठार करोडको परियोजना
सरकारले दुई वटा भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरेको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ ।
विसं २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले पाँच वर्षको म्याद (२०८५ पुस २५) भित्र छ अर्ब १८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो ।
बाह्र सय शय्यासहित एकीकृत विशेषज्ञ सेवा
नयाँ भवन १२ तलाको हुने छ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपत्कालीन सेवा, इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय शøयासहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको हो । अहिले सोही अनुरूपको निर्माण कार्य भइरहेको छ । यसको सुपरिवेक्षणसमेत निरन्तर भइरहेको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन हुने छन् ।
अन्तर्राष्ट्रिय निर्माण मापदण्ड अनुसार काठमाडौँ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौँ युनिकसल्ट सेन्टर’ लाई ‘जिटुजी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको छ । प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको छ । निर्माण कम्पनीका १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदार दैनिक रूपमा कार्यमा खटिएका छन् । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले रातिसमेत ‘सिफ्ट र सेफ्टी’ मिलाएर धमाधम काम गरिरहेको बताउनुभयो ।
अस्पतालका सूचना अधिकारी ज्ञानहरि मरासिनीले भन्नुभयो, “अहिले जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, सर्जरी, अर्थोपेडिक, प्लास्टिक सर्जरीलगायत १७ भन्दा बढी विभागीय सेवाका साथै प्याथोलोजी, एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, इइजी र इकोकार्डियोग्रामलगायत परीक्षण सेवा सञ्चालनमा छन् ।” हाल अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीका साथै सरकार र विकास समितिका सयौँ कर्मचारी कार्यरत छन् ।