हुम्ला समाचारदाता
हुम्ला, असार १४ गते । स्थानीयस्तरमा चौँरीगाईपालनका लागि स्थापना भएको स्रोतकेन्द्र चौँरीविहीनको भएको छ । स्रोतकेन्द्रमा पाल्न राखिएका चौँरी स्थानीयले भागबन्डा गरेर वितरण गरेपछि स्रोतकेन्द्र चौँरीविहीन भएको हो । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको तुम्लिङमा स्थापना गरिएको स्रोतकेन्द्र चौँरी भएको सो स्थानका व्यापारी फुन्जोक लामाले बताउनुभयो । चार वर्षअघि लिमीमा चौँरीपालन व्यवसायलाई व्यावसायिक रूपमा सञ्चालन गर्न ठुलै लगानी गरेर स्रोतकेन्द्र स्थापना गरिएको थियो । तीन वर्षसम्म स्रोतकेन्द्रमा वितरण गरिएका चौँरी सो केन्द्रमै पालिएको भए पनि गत मङ्सिरमा लिमीका स्थानीय मिलेर भागबन्डा गरेका थिए ।
पशु अस्पताल तथा पशु सेवा केन्द्रले १३० वटा चौँरी वितरण गरेर तिनै चौँरीबाट जन्मेका बाछा जोड्दा २३० पुगेका थिए । बजेटको व्यवस्था हुँदासम्म स्थानीयलाई चौकीदार राखेर स्रोतकेन्द्रमा चौँरीपालन गरिँदै आएको भए पनि पछिल्लो समय बजेटको व्यवस्था नहुँदा चौकीदार बस्न नमानेपछि लिमीवासी मिलेर भएका चौँरी बाँडेका थिए ।
स्रोतकेन्द्रको भवन, घेरबार र चौँरी सहयोग गरी स्रोतकेन्द्रमा साढे दुई करोड रुपियाँ बजेट लगानी गरिएको थियो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले स्रोतकेन्द्र चौँरीविहीन भएको बताउँदै बजेट अभावकै कारण यो अवस्था आएको दाबी गर्नुभयो । चौँरीपालनलाई व्यावसायिक रूपमा लैजान लागि ठुलै लगानीमा त्यसको भौतिक संरचना निर्माण गर्ने र चौँरी पाल्ने काम थालिएको थियो ।