• १४ असार २०८२, शनिबार

चिनीलाई चामल बनाई बेच्नेविरुद्ध मुद्दा

blog

पश्चिम नवलपरासी समाचारदाता

पश्चिम नवलपरासी, असार १४ गते । चिनीलाई चामल भनेर बेच्ने कार्यमा संलग्न पश्चिम नवलपरासीका एक जनासहित चार जनाविरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलले मुद्दा दायर गरेको छ । 

नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योति ट्रेडर्सले तीन करोड ४७ लाख रुपियाँ बराबरको चिनीलाई चामल उल्लेख गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउने गरेको फेला परेपछि सञ्चालक सौरभ यादवविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको हो । 

पछिल्लो समय उक्त ट्रेडर्सले सुर्खेतस्थित आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मालाई चामलको बिल बनाई ११ लाख रुपियाँभन्दा बढीको चिनी पठाएको अवस्थामा ट्रकसहित पक्राउ परेपछि उक्त अवैध कारोबार बाहिर आएको हो । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले ट्रक बरामद भएपछि थप अनुसन्धानका क्रममा तीन पटकसम्म चामलको बिल बनाएर चिनी पठाउने गरेको खुलेको जानकारी दिनुभयो ।

अनुसन्धानबाट मूल्य अभिवृद्धि करमा दर्ता नभएको र पटक पटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याइएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले नवज्योति ट्रेडर्सका सञ्चालक यादवलाई तीन करोड ४७ लाख ६२ हजार बिगो कायम गरी शतप्रतिशत जरिबाना माग गएिको छ । प्रमुख अनुसन्धान अधिकृत घिमिरेले कुल छ करोड ९५ लाख २५ हजार जरिबानासहित कैद सजाय माग गरेर मुद्दा दायर गरिएको बताउनुभयो । सामान खरिद गर्ने सुर्खेतस्थित आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्माविरुद्ध पनि ११ लाख ७१ हजार रुपियाँ बिगो कायम गरी शतप्रतिशत जरिबानासहित मुद्दा दायर भएको छ ।

त्यस्तै अवैध सामान खरिद गर्ने फर्मलाई प्रत्यक्ष सघाएको अभियोगमा हिक्मतप्रसाद आचार्यविरुद्ध पनि पुष्पालाई हुने सजायको आधा सजाय माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताउनुभयो । ट्रकचालक विनोद थापालाई भने ५० हजार धरौटीमा छाडिएको छ । 

भारतबाट नवलपरासीको सीमावर्ती क्षेत्र हुँदै चिनी तस्करी हुने गरेको छ । चिनी विभिन्न गोदाममा भण्डार गरेर बिल भर्पाई मिलाई तस्करी हुँदै आएको स्थानीयको भनाइ छ ।