अमरराज नहर्की
तनहुँ, असार १४ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखराअन्तर्गत पूर्वीखण्डको कालोपत्रको काम पूरा भएको छ । निर्माणको चरणमा पानी पर्दा हिलो तथा नपर्दा भएको धुलोलाई बिर्साउँदै सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ । पूर्वीखण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दूरीमा दुवै तर्फको चार लेन सडकको कालोपत्र पूरा भएको अयोजनाका पूर्वीखण्डका प्रमुख इन्जिनियर प्रकाशचन्द्र भण्डारीले जानकारी दिनुभयो । अब ससाना कामहरु मात्रै बाँकी रहेको ति सबै कात्तिक महिनासम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।
भण्डारीले भन्नुभयो, ‘‘सम्झौता भएको तीन वर्ष र पछिल्लो थप भएको ४५६ दिनको अवधिमा कालोपत्र पूरा भएको छ, विभिन्न बाधाहरु छिचोल्दै महत्त्वपूर्ण काम पूरा हुँदा खुसी लागेको छ ।’’
म्याद असार मसान्तसम्म रहेको कालोपत्र पूरा भएको आयोजनाले जनाएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
विसं २०२६ मा रेखाङकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्मको ८० किलोमिटर दूरीलाई दुई खण्डमा विभाजन गरेर चार लेनमा स्तरोन्नतीको काम भइरहेको छ । जसअन्तर्गत पूर्वीखण्ड (आँबुखैरेनी–जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा) पर्दछ ।