फडिन्द्र अधिकारी
लेखनाथ, असार १४ गते । सात ताल सुन्दर नगरी पोखराका विशेष पहिचान हुन् । प्रायः सबैका चुनावी नारा बन्ने यी तालमध्ये फेवा, वेगनास र रूपाको जति चर्चा छ, त्यत्तिकै गुमनाम छन्, अन्य तीन वटा ताल ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको खास्टे, न्युरेनी र गुँदेताल चर्चाभन्दा बाहिर छन् । यसअघि स्थानीय सहकारीमार्फत व्यावसायिक रूपमा माछापालन हुँदा यी ताल सदुपयोग पनि भएको थियो । तर अहिले वडा र सहकारीबिचको द्वन्द्वका कारण तीन वटै ताल अस्तव्यस्त छन् ।
केही समयदेखि पोखरा महानगरपालिका वडा नम्बर २६ को कार्यालयले मत्स्यपालन सहकारीलाई तालमा माछापालन गर्न रोक लगाएको थियो । वडा कार्यालयले वैकल्पिक व्यवस्था गर्ने वा महानगरले नै व्यवस्थापन गर्ने संयन्त्र तयार नगरी सहकारीलाई ताल संरक्षण गर्न रोक्दा अनेकखालका अप्ठेरा आइपरेको सरोकारवाला बताउँछन् । हिजोआज दिनमा धेरै मानिस तालमा माछा मार्न आउने, होहल्ला गर्ने, धानखेतमा दौडिने गरेको खास्टेतालछेउका स्थानीय नवराज बरालले बताउनुभयो ।
बरालले सहकारी र वडा कार्यालयबिच कुरा नमिल्दा सुन्दर खास्टेताल अस्तव्यस्त बनेको र अनियन्त्रित रूपमा बाहिरका मानिस आई होहल्ला गर्ने, माछा मार्ने जस्ता क्रियाकलाप गर्न थालेको बताउनुहुन्छ । बराल भन्नुहुन्छ, “खास्टेताल पहिला सहकारीले चलाएको थियो, अब वडाले नै चलाउने भए पनि चलाओस्, यसमा हामी स्थानीयको गुनासो छैन तर ताल अव्यवस्थित बनाउने, माछा चोरी गर्ने काम भने हुनु भएन ।”
अहिले जथाभावी रूपमा ताल दोहन हुँदा तालका जलचर र वनस्पति जोखिममा मात्र परेका छैनन् । स्थानीयको जनजीवनमै प्रत्यक्ष असर परेको उहाँ बताउनुहुन्छ ।
यहाँका यी ताल पर्यटकीय स्थलसमेत हुन् । २०७३ माघमा स्थानीयले खास्टे ताल मत्स्य तथा कृषि सहकारी स्थापना गरी ताल व्यवस्थापन र माछापालन थालेका थिए । त्यसबाट एकातिर ताललाई जोगाउने काम भएको थियो भने अर्कातिर व्यावसायिक रूपमा माछापालन पनि फस्टाएको थियो । सहकारीका पूर्वअध्यक्ष हरि अधिकारी २०६८ सम्म बेवारिसे ताललाई स्थानीयले व्यवस्थित गरी सरकारीमार्फत आयआर्जन गर्दै आएकोमा अहिले समस्या आएको बताउनुहुन्छ । “अहिले वडा कार्यालयले सिफारिस पनि दिएन । माछापालन गर्ने र मार्नेलाई पनि रोक्यो,” उहाँले भन्नुभयो, “फेरि वडाले पनि व्यवस्थित नगरी छाडिदियो । हामीले डेढ दशक गरेको प्रयास र परिश्रम खेर गयो ।” सहकारीले माछापालनको जिम्मा दिएका झलक जलारी आफ्नो करिब डेढ करोड रुपियाँ लगानी डुबेको बताउनुहुन्छ । उहाँले खास्टे र न्युरेनीतालमा माछापालन गर्ने गरी १० वर्षका लागि मासिक ८० हजार दिने गरी सहकारीसँग सम्झौता गर्नुभएको थियो । जलारीले नै गुँदेताल मत्स्य सहकारीसँग मासिक ४५ हजार दिने गरी जिम्मा लिनुभएको थियो । गुँदेमा ६० लाख जति लगानी गरेको उहाँको दाबी छ । “पाँच महिना जति भयो काम गर्न नपाएको,” जलारीले भन्नुभयो, “मैले हालेका माछा दिनमै बाहिरका सयौँ मानिस गएर मारेको देख्छु । न वडाले राम्रोसँग चलायो न मेरो लगानीबाट आम्दानी गर्न दियो ।” २६९ हेक्टरमा फैलिएको यो तालमा पानीको क्षेत्रफल करिब दुई सय हेक्टर छ । यहाँ अनेक प्रजातिका रैथानेसहित हिउँदमा पाहुना चरा पनि आउँछन् । न्युरेनीताल १८ हेक्टरमा रहेकोमा १० हेक्टर जति पानीले ढाकिएको छ । गुन्द्री बुन्न प्रयोग हुने गुँद पाइने भएकाले वडाको अर्को तालको नाम गुँदे राखिएको छ । यो ताल ६१ हेक्टरमा छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापा प्राकृतिक सम्पदा सरकारको अधीनमा रहनुपर्ने भएकाले ताललाई व्यवस्थित गर्न खोजिएको बताउनुहुन्छ । “सहकारीले ठगिरहेको थियो, त्यसो हुनुहुँदैन,” उहाँ भन्नुहुन्छ, “अब महानगरले यसको सञ्चालन गर्छ, आम्दानी गर्छ । व्यवस्थित रूपमा चलाउन महानगरले समिति बनाउँदै छ । हामी हाम्रो सम्पदालाई बिग्रन दिँदैनौँ ।”
विगत केही दिनदेखि गाडी नै लिएर हुलका हुल मानिस खास्टेतालमा आई स्वीकृतिबिनै माछा मार्ने र होहल्ला गर्ने गरेका कारण तालछेउका स्थानीयले ताल संरक्षणका लागि आवाज उठाएका छन् । स्थानीय खेमराज बराल सबैले संरक्षण र सही सदुपयोग गरे यी तालबाट पोखराको पर्यटन विकासमा टेवा पुग्ने बताउनुहुन्छ ।