• ११ असार २०८२, बुधबार

दसबर्से बालक दिनभर खोरमा

blog

रामपुर–६, तिलकपुरका मानसिक तथा शारीरिक रूपमा अशक्त १० वर्षीय बालक पवन कुमाल ।

इमानसिंह राना

रामपुर (पाल्पा), असार ११ गते । सडकछेउमै एकतले टिनको छाना भएको घरअगाडि राङ्सिङको बोटमुनि फलामको खोर देखिन्छ । त्यही फलामे खोरमा रामपुर–६, तिलकपुरका १० वर्षीय बालक पवन कुमाललाई बिहानदेखि साँझसम्म थुनेर राख्ने गरिएको छ ।

जन्मँदै मानसिक तथा शारीरिक रूपमा अशक्त पवन एक वर्षदेखि दिनभर फलामे खोरमा थुनिँदै आएका छन् । कृष्णबहादुर र पूर्णामाया कुमालका जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हुन् । कान्छो पविन घरनजिकैको नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । 

आमा पूर्णामाया सँगै जन्मिएको कान्छो छोरालाई विद्यालय पठाउँदै गर्दा अर्को छोरालाई बाध्यताले दिनभर खोरमा राख्नु परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दिउँसो काममा जाँदा झोलुङ्गोमा हालेर हिँडे पनि घस्रिएर घरबाट निस्किन्छ र पछि घर फर्किन सक्दैन । ऊ बोल्न पनि सक्दैन । गाडीले किच्छ कि भन्ने डर भएकाले बाध्यताले दिउँसो खोरमा थुन्ने गरेका हौँ ।” 

दिनभरको काम सकेर घर फर्किएपछि भने पवनलाई बाहिर निकालिन्छ । साँझ पूर्णामायाले आफू र भाइसँगै सुताउनुहुन्छ । परिवारले उपचारका लागि प्रयास नगरेको भने होइन । पवनलाई एक वर्षको हुँदा खुट्टाको उपचारका लागि काभ्रेपलाञ्चोकको बनेपास्थित अपाङ्गतासम्बन्धी उपचार गर्ने अस्पताल लगिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “उपचारपश्चात् खुट्टामा केही सुधार भएको थियो । शल्यक्रिया गर्न नपाउँदै एक्कासि मुटुमा समस्या देखिएपछि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया भयो ।” उहाँले मुटुको शल्यक्रिया निःशुल्क भए पनि खुट्टाको उपचार र अस्पताल आउँदाजाँदा नौ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको बताउनुभयो । 

चिकित्सकले मस्तिष्कको समेत शल्यक्रिया गर्न सुझाव दिएका छन् । उहाँका अनुसार मस्तिष्कको शल्यक्रियाका लागि अनुमानित सात लाख रुपियाँ खर्च लाग्ने भएपछि आर्थिक अवस्थाका कारण उपचार गर्न नसकिएको परिवारको भनाइ छ ।

विसं २०७१ मा जुम्ल्याहा छोरा जन्मिएपछि परिवारमा खुसीको सीमा नै थिएन तर पहिला जन्मिएका पवन खान नजान्ने, खुट्टाले टेक्न नसक्ने अवस्थाका हुँदै गए । बुबा कृष्णबहादुर अहिले वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा हुनुहन्छ । विदेशमा श्रीमान्ले गरेको दुःखले घरमा अन्य तीन परिवारको पालनपोषण हुँदै आएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पवनको उपचार कुनै अस्पतालले गरिदिए नगरपालिकाले पनि उपचार रकम सहयोग गर्ने बताउनुभयो ।