बाजुरा समाचारदाता
बाजुरा, असार ११ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालले जोडिँदै गएका छन् ।
स्थानीयलाई पालिका आउजाउ गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने गरेर पालिकाले सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका अति दुर्गम गाउँबस्ती सडक सञ्जालले जोडिँदै गएका छन् । जिल्लाको सबैभन्दा विकट पालिका भनेकै हिमाली हो । यो पालिकाका वडा झनै दुर्गममा अवस्थित छन् ।
यहाँका स्थानीयलाई पालिका आउनसमेत दुई/तीन दिन लाग्थ्यो । अहिले यहाँका अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिएसँगै दुई÷चार घण्टामै पालिकादेखि घरमा पुग्ने गरेको हिमाली गाउँपालिका–६ का स्थानीय नरजित रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सडक गाउँमै पुगेपछि हामीलाई घरबाट पालिका आउजाउ गर्न निकै सहज भएको छ । यसरी सडक पुगेपछि सवारीसाधन चल्न थालेपछि अहिले यहाँका बासिन्दाको जीवनशैली समेत बदलिँदै गएको छ ।”
पहिला गाउँमा उत्पादन भएका तरकारी कतै बिक्री हुँदैनथे । अहिले ती वस्तु खरिद गर्न व्यापारीसमेत घरमै पुग्ने गरेका छन् । गाउँमा उत्पादित फलफूल तथा तरकारी वस्तुसमेत अहिले बजारमा लिनसमेत निकै सहज भएपछि यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको रावलले बताउनुभयो ।
हिमाली गाउँपालिका सदरमुकाम मार्तडीदेखि झन्डै ६५ किलोमिटरको दुरीमा पर्छ । यहाँका वडापालिका योभन्दा अझै ३५ देखि ५० किलोमिटर टाढा छन् । पहिला यहाँका स्थानीयलाई वडापालिका आउनसमेत चार/पाँच घण्टा र पालिकामा आउजाउ गर्न दुई दिन लाथ्यो ।
अहिले गाउँपालिकाले यहाँका सबै पालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयलाई वडा तथा पालिकामा आउन गाडीमा दुई चार घण्टाको समय लाग्ने गरेको छ । हिमाली गाउँपालिकाले यहाँका दुई/तीन वडाबाहेक अन्य सबै वडालाई सडक सञ्जालको पहुँचमा राख्दै आएको छ ।