हरिप्रसाद कोइराला
उर्लाबारी, असार ११ गते । मोरङको लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेट ल्याएको छ । लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार चार सय र पुँजिगततर्फ १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपियाँ विनियोजन गरिएको छ ।
नगरपालिकाले सशर्त वाहेक विषयगततर्फ सबै भन्दा बढी बजेट शिक्षामा एक करोड ८३ छुट्याएको छ । यस्तै, एक वडा एक गौरवको योजनाका लागि पाँच करोड ८५ लाख, कृषि विकासका लागि ५० लाख, पशुपंक्षी विकासका लागि ६१ लाख ४५ रुपियाँ विनियोजन गरेको छ ।
यसैगरी जलस्रोत तथा सिँचाइका लागि ९३ लाख, खेलकुदका लागि ३० लाख ८० हजार, विपद् व्यवस्थापनमा ६० लाख, चुरे संरक्षणका लागि १० लाख ७५ हजार र वन संरक्षण अनुदानमा अनुदान १० लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ । वडालाई नगरले पाँच करोड ८५ लाख रुपियाँ विनियोजन गरेको छ ।
नगरको सामाजिक विकासमा सबैभन्दा बढी २६ करोड ७५ लाख २७ हजार ८ सय रुपियाँ छुट्याइएको छ ।
नगरको आम्दानी तर्फ आन्तरिक आयबाट दुई करोड ७२ लाख ३५ हजार, दहत्तर बहत्तर दुई करोड १० लाख, गत वर्ष खर्च नभएको अल्या दुई करोड ५० लाख, सङ्घीय सरकार राजश्व बाँडफाँट ११ करोड ८३ लाख २२ हजार दुई सय, प्रदेश राजस्व बाँडफाँट ८५ लाख ५० रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, मालपोतबाट एक करोड २५ लाख, मनोञ्जन करबाट १२ लाख ५० हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । संघ र प्रदेश सरकारले दिने समपुरक, समानीकरण अनुदान समेत गरी कुल ६१ करोड ६ लाख २८ हजार २ सय रुपियाँको आम्दानी अनुमान गरिएको हो ।
नगरप्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतामा भएको बजेट केही संशोधन गरी मङ्गलबार नै पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।