बेलौरी समाचारदाता
कञ्चनपुर, असार ११ गते । कञ्चनपुरका स्थानीय तहको भ्रमण खर्च दुई करोड रुपियाँभन्दा बढी देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका नौ वटा पालिकाले ‘भ्रमण’ शीर्षकमा दुई करोड २३ लाख ६९ हजार रुपियाँ खर्च गरेका हुन् । गत आवमा अन्य पालिकाका हकमा बेलौरी पालिकाकाले अत्यधिक खर्च ‘भ्रमण’ शीर्षकमा गरेको छ । बेलौरी नगरपालिकाको भ्रमण खर्च गत आवमा ४८ लाख ३४ हजार आठ सय रुपियाँ नाघेको हो । सो पालिकाले कर्मचारीको भ्रमणमा १६ लाख ८० हजार २९७ रुपियाँ र पदाधिकारी भ्रमणमा २४ लाख ७९ हजार २०१ रुपियाँ खर्चेको छ ।
भ्रमणमा प्रयोग भएका सवारीसाधनको अनुगमन प्रतिवेदनसमेत बेलौरी नगरपालिकाले तयार गरेको छैन । यसले गर्दा गत आवमा उक्त रकमको सही सदुपयोग भएको भन्ने आधार भने नरहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
बेलौरीपछि कृष्णपुर नगरपालिकाको भ्रमण खर्च गत आवमा ३१ लाख ५० हजार रुपियाँ पुगेको छ । सो पालिकाले स्पष्ट प्रयोजन र उद्देश्यबेगर भ्रमण खर्च गरेको देखिएको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । अघिल्लो आवमा कृष्णपुर नगरपालिकाले भ्रमण शीर्षकमा २४ लाख ९८ हजार रुपियाँ खर्च गरेको थियो । शुक्लाफाँटा नगरपालिकाले गत आवमा पदाधिकारी र कर्मचारीलाई भ्रमण खर्चस्वरूप २१ लाख ९९ हजार ९०१ रुपियाँ खर्च गरेको छ । यो खर्च स्वाभाविक भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट बताउनुहुन्छ । शुक्लाफाँटा नगरपालिकाले आव २०७९/८० मा १७ लाख दुई हजार रुपियाँ भ्रमणमा खर्च गरेको थियो ।
यस्तै बेदकोट नगरपालिकाले गत आवमा २४ लाख ६९ हजार ६७६ रुपियाँ कर्मचारी र पदाधिकारीको भ्रमण ‘शीर्षक’ मा खर्च गरेको छ । आव २०८०/८१ मा भीमदत्त नगरपालिकाले कर्मचारी र पदाधिकारीको भ्रमणबापत २१ लाख २७ हजार ९८१ रुपियाँ खर्च गरेको छ । भीमदत्त नगरपालिकाले भ्रमण अभिलेख खाता अद्यावधिक नगरेको पाइएको छ । बेलडाँडी गाउँपालिकाले भने नगरपालिकाभन्दा बढ्ता खर्च भ्रमण शीर्षकमा गरेको छ । सो पालिकाको भ्रमण खर्च गत २७ लाख ९१ हजार रुपियाँ नाघेको छ । सो पालिकाको कर्मचारी तथा पदाधिकारी भ्रमणमा २५ लाख ३७ हजार २५ रुपियाँ खर्च गरेको छ भने अन्य भ्रमणमा दुई लाख ५४ हजार दुई सय रुपियाँ खर्च गरेको छ । बेलडाँडी गाउँपालिकाले आव २०७९/८० मा २२ लाख ६८ हजार भ्रमणमा खर्च गरेको थियो ।
लालझाँडी गाउँपालिकाले भने भ्रमण खर्चको अभिलेख खाता नै नराखेको पाइएको छ । दोधारा चाँदनी नगरपालिकाले गत आवमा २६ लाख २२ हजार ४३५ रुपियाँ भ्रमण शीर्षकमा खर्च गरेको छ । सो पालिकाले भ्रमण अभिलेख खाता प्रमाणित, कोष प्रमाणित, प्रयोग भएका सवारीसाधनको टिकट अनुगमन प्रतिवेदन भने तयार नगरेको पाइएको हो । यसले गर्दा अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार नरहेको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।
पुनर्बास नगरपालिकाले गत आवमा भ्रमण खर्च शीर्षकमा २१ लाख ७३ हजार ७०३ रुपियाँ खर्च भएको जनाएको छ । भ्रमणमा प्रयोग भएका सवारीसाधनको प्रतिवेदन भने नराखेको पाइएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा भ्रमण तथा अनुगमनको सही सदुपयोग भएको भन्ने आधार नरहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ ।
भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमण गएको मिति भ्रमणमा प्रयोग भएका सवारीसाधनको भ्रमण अभिलेख स्पष्ट राख्नुपर्ने र भ्रमणमा खटाउने पदाधिकारीले विश्वसनीय आधार प्रमाण स्थापित हुने गरेर आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नु पर्छ । कञ्चनपुरमा भने पालिकाहरूले भ्रमण खर्चको अभिलेख नै नराखेको पाइएको छ । यसले यहाँका पालिकाहरूले गत आवमा दुई करोड २३ लाख ६९ हजार रकम ‘भ्रमण’ शीर्षकमा रहेको बजेट दुरुपयोग गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।