मेलम्चीको खानेपानी आए पनि काठमाडौँ उपत्यकावासी उपभोक्ताले नियमित रूपमा खानेपानी पाउन सकेका छैनन् । ठुलो लगानी गरी २७ किलोमिटर सुरुङ बनाएर दुई दशक लगाएर ल्याइएको खानेपानीको वितरण व्यवस्था प्रभावकारी हुन नसक्दा पटक पटक समस्या बल्झिने गरेको हो । काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने प्रतिबद्धता पटक पटक व्यक्त गरियो । चौबिसै घण्टा धारामा पानी आउँछ पनि भनियो । सम्बन्धित मन्त्रालय र निकायबाट आश्वासन पाइरहँदा उपभोक्ताको धारामा नियमित पानी भने आउँदैन । धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन । ललितपुरको बगलामुखी, सानेपा, झम्सीखेल, बखुन्डोल वरपरका क्षेत्रमा मेलम्चीको पानी नआएको डेढ हप्ताभन्दा बढी भइसकेको उपभोक्ताको गुनासो छ । काठमाडौँको तीनकुने, बत्तीसपुतली, कोटेश्वरको सुविधानगर, नरेफाँट, जडीबुटीलगायत क्षेत्रका उपभोक्ताका धारामा पानी नआएको पनि हप्ता नाघिसकेको छ । अहिले यस क्षेत्रका उपभोक्ताले ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता छ । ललितपुरको बगलामुखी, सानेपा, झम्सीखेल, बखुन्डोल वरपरका क्षेत्रका उपभोक्ताका धारामा झन्डै एक हप्तादेखि मेलम्चीको पानी आएको छैन । आश्वासन बाँड्नुभन्दा उपभोक्ताका धारामा नियमित पानी आउने गरी काम गर्न सम्बन्धित मन्त्रालय र निकायलाई उपभोक्ताले आग्रह गरेका छन् । कतिपय उपभोक्ताले पानी नदिएपछि शुल्क किन लिने ? भनी प्रश्न गरेका छन् । सबै उपभोक्ताले छुट्टै पैसा तिरी ट्याङ्करको पानी किनेर खान पनि सक्दैनन् । अहिले पुरानो र नयाँ पाइपलाइन दुवैबाट पानी आएको छैन । विगत ८/१० दिनदेखि कोटेश्वर क्षेत्रमा मेलम्चीको पानी आएको छैन । केही समयअघिसम्म त धारामा पानी आउँदै आउँदैनथ्यो, केही हप्तादेखि आउन सुरु भएको थियो । त्यो पनि नआएको एक हप्ता भइसकेको उपभोक्ताको गुनासो छ । खानेपानीमन्त्रीले कोटेश्वर महादेवस्थानमा खानेपानी ट्याङ्की निर्माण गर्ने प्रतिबद्धता गर्नुभयो । त्यो अहिलेसम्म पूरा हुन सकेको छैन ।
मेलम्ची खानेपानी विकास समितिले बर्खाको बेला मेलम्ची खोलाको पानी धमिलो हुने भएकाले नियमित रूपमा सुरुङमा पथान्तरण नहुँदा पानी वितरणमा केही समस्या उत्पन्न भएको जानकारी दिएको छ । मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउनुपर्नेमा अहिले बेला बेला खोलामा धमिलो पानी बग्ने भएकाले पानी पथान्तरण बन्द गर्दा सो परिमाणमा पानी पठाउन नसकिएको समितिको भनाइ छ । पानी पथान्तरण बन्द भएको बेला रिबर्मा खोलाको चार/पाँच करोड लिटर पानी सुरुङमा पठाउने गरिएको छ । तर पनि उपभोक्ताका धारामा नियमित पानी पुग्न सकेको छैन । अर्बौं रुपियाँको लगानीमा निर्माण गरिएको सुरुङभित्र बालुवा, माटो, ढुङ्गा नथुप्रियोस् भन्ने उद्देश्यले धमिलो पानी पथान्तरण नगरिएको समितिको दाबी छ । यो दाबीलाई मान्न उपभोक्ता भने तयार छैनन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बर्खाका कारण मेलम्ची खोलाको पानी पहिलेकै दरमा सुरुङमा पथान्तरण हुन नसक्दा उपभोक्ताको धारामा नियमित रूपमा पानी आउन नसकेको स्विकारेको छ । उसको भनाइ छ– ठुलो पानी पर्दा मेलम्ची खोलाको पानी धमिलो आउँछ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रले छान्न सक्नेसम्मको धमिलो पानी सुरुङमा पठाइन्छ तर छान्न नसक्ने पानी सुरुङमा पठाइँदैन । धमिलो पानीले सुरुङ र प्रशोधन केन्द्रलाई असर गर्ने भएकाले त्यसो नगरिएको हो । सम्बन्धित खानेपानी मन्त्रालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले यस्तो दाबी गरे पनि उपत्यकावासी उपभोक्ता यसलाई मान्न तयार छैनन् । १७ करोड लिटर पानी प्रशोधन गर्ने संयन्त्र सुन्दरीजलमा बनाइएको छ । सो संयन्त्रले दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी उपभोक्ताको धारामा पानी पठाउन सक्छ । यस्तो संयन्त्र हुँदाहुँदै पानी नपठाउनु कतै यसमा ट्याङ्करको पानी बिक्री गराउने चलखेल त होइन भनी उपभोक्ताले आशङ्का व्यक्त गरेका छन् ।
राष्ट्रिय गौरवको यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने क्षमता राख्छ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा यो परियोजना दुई दशक लगाएर बनाइएको हो । २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरण शुभारम्भ गर्नुभएपछि चैत २५ गतेबाट काठमाडौँका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । यो परियोजना सम्पन्न भएपछि राजधानीमा खानेपानीको दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको थियो तर बाढीपहिरोलगायत विभिन्न कारणले बर्खायाममा खानेपानी वितरणमा समास्या देखिएको छ । यसको दीर्घकालीन समाधान गरी राजधानीवासी उपभोक्तालाई बर्खायाममा पनि नियमित रूपमा खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विशेष पहल गर्नुपर्ने देखिएको छ ।