विकास अधिकारी
पश्चिम नवलपरासी, असार ११ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन र पूर्वाधार विकासमा प्राथमिकता दिँदै झण्डै डेढ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । १६ औं नगरसभामार्फत उपप्रमुख सम्झना चौधरीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोड ३६ लाख रुपियाँ बराबरको अनुमानित आय र व्ययको विवरण सार्वजनिक गर्नुभएको हो ।
रामग्राम नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्राहरूको शुल्क मिनाहा गर्ने उल्लेख गरिएको छ । छोरीहरूको पढाइलाई निरन्तरता दिन निःशुल्क पढ्ने व्यवस्था गर्न बजेट व्यवस्थापन गरिएको जनाइएको छ ।
छोरीहरूलाई बिचमै पढाई छाड्ने प्रवृत्तिलाई रोक्न नगरपालिकाले शुल्क व्यर्होने गरी अध्ययनको व्यवस्था गरिएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।
यसैगरी परासीमा अदालत अगाडिको जग्गामा बहुउद्देश्य भवन निर्माण गर्ने, खानेपानी विस्तार, होमस्टे निर्माण, रङ्गशाला निर्माण, खोला नदी सरसफाइ तथा तटबन्ध निर्माण, सार्वजनिक जग्गा संरक्षण गर्दे वृक्षारोपण गर्ने लगायतका कार्यलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
साथै दूध उत्पादक कृषकका लागि प्रतिलिटर दूधमा दुई रुपियाँ अनुदान दिने नीति ल्याइएको पनि नगर प्रमुख यादवले बताउनुभयो । सीमित स्रोत र साधनका बिच जनहितका कार्यक्रम ल्याएको बताउँदै विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । किसानसँग मेयर कार्यक्रम, ज्येष्ठ नागरिक चेकजाँच, गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण, गरिब विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने लगायतका कार्यक्रमलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ ।