• ७ जेठ २०८१, सोमबार

कोशीमा विपद् पूर्वको तयारी गर्दै संयुक्त प्रतिकार्य अभ्यास

blog

कोशी क्षेत्रमा विपद् पूर्वको तयारीको संयुक्त प्रतिकार्य अभ्यासका क्रममा बाढीमा डुबेकालाई उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर ः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असार १ गते । सुनसरीमा बाढी र आगलागीका कारणले कयौँको ज्यान जाने गरेको र राहत तथा उद्धारमा ढिलाइ हँुदा पर्ने असरसमेतलाई दृष्टिगत गरी कोशी क्षेत्रमा विपद् पूर्वको तयारीको संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ । 

बुधबार सुनसरीको कोशीमा सम्भावित विपद् पूर्वको तयारीलाई मध्यनजर गर्दै संयुक्त प्रतिकार्य अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै नेपाल रेडक्रसको टोलीले कोशी गाउँपालिका–४ कोशी कटानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

प्रतिकार्य अभ्यास कार्यक्रममा सम्भावित बाढी तथा डुबान, आगलागी र सर्पदंशका घटना आइपर्दा अपनाइने सावधानी, उद्दार र जनचेतनाजस्ता विषय केन्द्रित घटनाक्रमलाई प्रतिकार्यरुपमा प्रस्तुत गरिएको थियो ।

संयुक्त अभ्यास कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय सुनसरीसँगै कोशी र भोक्राहा नरसिंह गाउँपालिकाले मिलेर संयुक्तरुपमा सञ्चालनमा ल्याएको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिसहित स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।


प्रतिकार्य अभ्यास कार्यक्रममा कृष्णदल गण इटहरी, दुर्गादल गुल्म कोशी टप्पु, जिल्ला प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरी र नेपाल रेडक्रस सोसाइटी सुनसरीको टोली सहभागी रहेको थियो । 

हरेक वर्ष वर्षायामसँगै सप्तकोशी नदीको वहावमा आउने उतारचढाव र विभिन्न भेगमा हुने डुबान सुनसरीका लागि समस्याका रुपमा देखिँदै आएकाले त्यसको सांकेतिक सचेतनामूलक सन्देश दिनका लागि पनि कार्यक्रम प्रभावकारी भएको स्थानीय सहभागी सियाराम यादवले बताउनुभयो ।