• ६ असार २०८२, शुक्रबार

देशलाई ऋणमुक्त बनाउन ढोरपाटनले छुट्यायो पाँच लाख बजेट

blog

ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै कार्यबाह नगरप्रमुख धनबहादुर कायत कल्याण । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) असार ६ गते ।
बागलुङको ढोरपाटन नगरपालिकाले राष्ट्रिय ऋण तिर्न पाँच लाख बजेट विनियोजन गरेको छ । कार्यबाह नगरप्रमुख धन बहादुर कायत कल्याणले देशमा २६ खर्बभन्दा बढी ऋण रहेको अवस्थामा ढोरपाटनले ऋणमुक्त देश बनाउने अभियानका लागि पाँच लाख बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले ढोरपाटनले जस्तै सबैले आफ्नो दायित्वबोध गर्दै नेपाललाई ऋण बिनाको देश बनाउने अभियानमा हातेमालो गर्नुपर्ने बताउनभुयो ।

बिहीबार १७ औँ नगरसभाबाट पारित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा नगरपालिकाले सरकारी तथा गैरसरकारी संस्थालाई ऋणमुक्त देश बनाउने अभियानमा हातेमालो गर्न अपिल गरिएको छ ।

नेपाललाई ऋण बिनाको देश बनाउन “ऋण मुक्त देश” निर्माण गर्ने नीति अबलम्बन गर्दै नगरपालिकाले नेपालको सार्वजनिक ऋण तिर्ने गरी यस्तो नीति अबलम्बन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाका कार्यवहाक नगरप्रमुख धनबहादुर कायत कल्याणले नेपाल सरकारको वैदेशिक ऋण र आन्तरिक ऋणमध्ये चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेट बाहेक बाँकी ऋणको साँवा व्याज मध्येबाट नगरपालिकाले आफ्नो दायित्व बोध गरी नेपाल सरकारको ऋण तिर्न सहयोग गर्ने गरी उक्त कार्यक्रम ल्याएको बताउनुभयो ।

यस अभियानमा स्थानीय सरकार, प्रदेश सरकार, बैंकहरु, निर्माण व्यवसायी, संस्थान, उद्योग, व्यापारिक प्रतिष्ठानलगायत सबै नेपाली नागरिक र नागरिकका पेशा व्यवसायलाई स्वेच्छाले “ऋण मुक्त देश” निर्माण गर्ने अभियानमा हिस्सेदारी बन्न समेत आग्रह गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यवहाक नगरप्रमुख कायतले वैदेशिक ऋण लिनेभन्दा पनि देशलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्ने सन्देशसहित यस्तो नीति अबलम्बन गरिएको भन्दै अन्य स्थानीय तहले पनि यसको सिको गरी देशलाई ऋण मुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।