सुर्खेत समाचारदाता
सुर्खेत, असार ६ गते । कर्णाली प्रदेशमा वित्तीय साक्षरता कमजोर रहेको पाइएको छ । कर्णाली फाउन्डेसनले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय वित्तीय साक्षरता र वित्तीय समावेशीकरण विषय कार्यशालामा बैङ्कमा खाता खोल्नेदेखि बचत गर्ने, मोबाइल बैङ्किङ गर्नेलगायतका सेवा सुविधा लिन कर्णालीवासी निकै पछि रहेको जानकारी दिइएको हो ।
कर्णालीमा ‘क’ वर्गका बैङ्कसहित ५०७ वटा वित्तीय संस्था छन् । बैङ्कर्स एसोसिएसन कर्णाली प्रदेशका उपाध्यक्ष दिवाकर जोशीले सात प्रदेशमध्ये बैङ्कमा खाता खोल्नेमा कर्णाली छैटौँ स्थानमा रहेको बताउनुभयो । कर्णालीमा एटिएम कार्ड प्रयोग गर्नेको सङ्ख्या तीन लाख ३७ हजार रहेको छ, जसमध्ये सक्रिय दुई लाख ४० हजार छन् । क्रेडिट कार्ड प्रयोग गर्नेको सङ्ख्या केवल चार हजार मात्रै छ ।
त्यसैगरी कोभिडपछि कर्णालीमा मोबाइल बैङ्किङको कारोबार पनि बढेको छ । मोबाइल बैङ्किङ गर्नेको सङ्ख्या आठ लाख ७० हजार रहेकामा पाँच लाख ६२ हजार सक्रिय रहेको एसोसिएसनका कर्णाली प्रदेशका उपाध्यक्ष जोशीले बताउनुभयो । त्यस्तै इन्टरनेट बैङ्किङ गर्ने २४ हजारमध्ये १८ हजार सक्रिय छन् भने डलर कार्ड प्रयोग गर्ने ७२३ छन् ।
कर्णालीका १० जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतमा बढी कारोबार हुने गरेको छ भने मुगु, डोल्पा, हुम्लामा कारोबार कम हुने गरेको पाइएको छ । खाता खोल्नेमा सुर्खेतमा सबैभन्दा धेरै र सबैभन्दा कम रुकुम पश्चिममा छन् ।
उहाँले गत वर्ष कर्णालीमा ३५ अर्ब रुपियाँ बचत भएको र यस वर्ष सात अर्ब बढेर ४२ अर्ब पुगेको उहाँले बताउनुभयो । पुँजी बचत भएपछि लगानी गर्ने अवसर पनि खुलेको छ ।
कर्णालीमा ६१ अर्ब कर्जा लगानी भएको छ । कृषि, शैक्षिक, आवासलगायतका क्षेत्रमा कर्जा लगानी भएको छ । बचत गर्ने र कर्जा लगानीमा पनि प्रदेश राजधानी सुर्खेतमै बढी रहेको उपाध्यक्ष जोशीले बताउनुभयो ।
कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले उद्योगपतिले बैङ्क खोल्ने र मिलेमतोमा कर्जा सबै आफूले लिएर ग्रामीण तहका बासिन्दाले कर्जा पाउन नसक्ने अवस्था रहेको जानकारी दिनुभयो ।
उहाँले एउटै व्यक्तिले उद्योग र बैङ्क खोल्न नहुने सुझाव पनि दिनुभयो । कर्णाली फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद भट्टराईले कर्णालीमा अझै पनि वित्तीय साक्षरताको आवश्यकता रहेको बताउनुभयो ।