• १८ असार २०८१, मङ्गलबार

सप्तरीमा महिला हिंसाको घटना बढयो

blog

कुटपिटबाट घाईते महिला पुष्पा स्वर्णकार । तस्विरः माला कर्ण

माला कर्ण

कल्याणपुर, असार १ गते । विगत केही महिना यता सप्तरीमा महिला हिंसाको घटना बढ्दो छ । गम्भिर प्रकृतिका महिला हिंसाका घटना बढ्दै जाँदा प्रहरीले ठोस अनुसन्धान भने नगरेको पीडित तथा सरोकारवालाको आरोप छ । पछिल्लो समय सप्तरीमा घरनिकालाको घटना बढेको देखिएको छ । 

राजविराज –५ मा घर भाडा गरी बस्दैआएका एकल महिलालाई सकरपुराका आशिष सिंहले कुटपिट गरी घाइते बनाएको छ । समान्य घरायसी विवाद सिर्जना गरेर कसैको सहारा नभएकी पुष्पा स्वर्णकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानियहरुले बताएका छन । 

कुटपिटबाट घाईते हुनुभएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अस्पतालमा उपचार गराइ रहनुभएको छ । विगत १५ वर्ष देखि एकै स्थानमा बस्दै आइरहनुभएका पुष्पाको श्रीमानको मृत्यु भइसकेको छ । कसैको सहारा नभएका पुष्पा दिनभरी मजदुरी गरेर १२ बर्षिय छोराको पालन पोषन गर्दैआउनुभएको छ । 

अस्पतालमा उपचार गराई रहनुभएकी पुष्पाले भन्नुभयो, ‘सिंहको परिवाले विगत दुई वर्षदेखि मलाई कुदृष्टीले हेरिरहेको छ, सामान्य विषयमा निहु खोजेर झगडा गर्ने, कुटपिट गर्नेगरेको छ ।’ जिल्ला प्रहरी कार्यालयमा सिंहको राजनीतिक पहुँच भएका कारण प्रहरीले खासै चासो नलिएको उहाँको आरोप छ ।

अधिकारकर्मी तथा राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहले घाइते पुस्पाको बारेमा जानकारी लिई न्यायका लागि आफुहरु पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरु अस्पाल पुगेर घाईतेको अवस्थाबारे जाकारी लिई प्रहरीलाई जानकारी गराई सकेका छौं, अव हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौ ।’

यता विगत तीन महिनाको अवधीमा ६ जना महिलामाथि महिला हिंसा, घरेलु हिंसा र घर निकालाका घट्ना दर्ता भएका छन् । अन्यायमा परेका उहाँहरुलाई अदालतको संरक्षनात्मक आदेश पश्चात् घरमा प्रवेश गराइएको छ । पुस्पाको घटनामा प्रहरीले सक्रियता देखाएको छैन । अन्य महिलामाथि हुने हिंसा भने अनगिन्ति भएपनि अदालतमा दर्ता हुन भने आएको छैन । कतिपय घटना निवेदन लिएर पनि इलाका प्हरी कार्यालयहरुले दर्ता गरेको छैनन् । 

त्यस्तै, सोमवार अदालतको संरक्षात्मक आदेशपछि राजविराज नगरपालिका ३ का २३ वर्षिया आरती दासलाई गृह प्रवेश गराइएको छ । नवीन दासकी पत्नी आरतीलाई जनप्रतिनिधि, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितिबीच घर प्रवेश गराइएको छ । 

धनुषाको जनकपुर उपमहानगरपालिकामा माईत रहेको आरतीको डेढ वर्षअघि नवीनसँग विवाह भएको थियो । केही दिनपछि दाईजोको विषयलाई लिएर परिवारका सदस्यसँग परेको खटपटका कारण आफुलाई घर निकाला गरिएको पीडित महिला आरतीको भनाइ छ । न्यायका लागि सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्न पुगेका दासलाई अधिवक्ता किरणकुमारी साहले निशुःल्क कानुनी सहायता उपलब्ध गराउनुभएको थियो । 

आरतीलाई गर्भवती रहेकै अवस्थामा कुटपिट गर्दै घर निकाला गरिएको थियो। त्यसक्रममा कुटपिटबाट उहाँको ६ महिनाको गर्भ समेत तुहिएको थियो । त्यसपछि अदालतमा न्यायको लागि उहाँ पुग्नुभएको थियो।