हुम्ला समाचारदाता
हुम्ला, असार ३ गते । हिमाली जिल्ला हुम्लामा फुजी प्रजातिको स्याउ फलेको छ । नमुना परीक्षणका लागि लगाएको सो स्याउले फल दिन थालेको हो ।
सिमकोट गाउँपालिका–५ मा सिमसार क्षेत्रको जग्गामा लगाएको फुजी स्याउले फल दिन सुरु गरेको हिमाली कृषि तथा पशुपालन फर्मका संरक्षक नरबहादुर रोकायाले बताउनुभयो । उहाँले गत वर्ष लगाएका उक्त स्याउका बोटबाट सो वर्ष एक/दुई बोटमा दाना लागेपछि यस वर्ष भने सबै बोटले फल दिन सुरु गरेको जनाउनुभयो ।
उहाँले चार रोपनी जग्गामा चार सय बोट फुजी स्याउ लगाउनुभएको छ । छोटो समयमा फल दिन सुरु गर्ने भएका कारण यो स्याउ लगाएको बताउँदै उहाँले यसको अध्ययन अवलोकनका लागि आफू मुस्ताङ र मनाङ जिल्लाका स्याउ फार्ममा पुगेको जानकारी दिनुभयो । उक्त फार्मले लगाएका स्याउ दुई हजार ९२० मिटर उचाइमा रहेका छन् । उहाँले आफ्नो फार्ममा लगाएका फुजी स्याउका बोटलाई सहयोग गर्नका लगि ठाउँ ठाउँमा फलाम गाड्नुभएको छ ।
सिमकोट गाउँपालिका कृषि शाखाका अधिकृत नेत्रबहादुर शाहीले उच्च घनत्व भएका क्षेत्रमा यो स्याउ फल्ने भएका कारण यसलाई लगाएको र सफल भएको बताउनुभयो । यो स्याउ फुजी, गाला र गोल्डेन प्रजातिको हुने उहाँले बताउनुभयो ।
हुम्लामा परीक्षणका रूपमा लगाइएका स्याउ भने फुजी हुन् । होचो जातका र चाँडै प्रतिफल दिने यो स्याउ तीन हजार मिटरमा फल्ने उहाँले बताउनुभयो । १५ देखि २० केजी फल दिने यो स्याउका बोटबाट पहिलो वर्ष भएका कारण कति फल्छ अहिले भन्न नसकिने बताउँदै उहाँले प्रत्येक बोटमा पाँचदेखि १० वटा दाना लागेको जानकारी दिनुभयो ।
त्यसै गरी नाम्खा गाउँपालिका–१ को हेक्पाखोलामा पनि यो स्याउका बोट लगाइएकाले फल दिन सुरु भएको छ । हुम्लामा सफल रूपमा यो स्याउ फलेका कारण यसको क्षेत्र विस्तार गर्न सहज भएको उहाँले बताउनुभयो ।