नवीनराज कुइँकेल
लमजुङ, असार २ गते । लमजुङका वैदेशिक रोजगार पीडितहरूले करिब दुई करोड रुपियाँ आर्थिक सहायता पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।
आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लामा हालसम्म एक करोड ९२ लाख ५९ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध भएको छ । सोमध्ये सबैभन्दा धेरै एक करोड १८ लाख रुपियाँ वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारमा गएको छ । केन्द्रका अनुसार वैदेशिक रोजगारको क्रममा मृत्यु भएका १५ जनामध्ये ११ जनाको परिवारले आर्थिक सहयोग पाइसकेको र चार जनाको प्रक्रियामा छ ।
त्यसैगरी ठगीसम्बन्धी समस्याका पीडितका लागि ४९ लाख ५५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध भएको छ । ठगीसम्बन्धी ३४ निवेदनमध्ये १८ वटाको समाधान भइसकेको र १६ वटा प्रक्रियामा रहेको स्रोत केन्द्र लमजुङका परामर्शदाता ईश्वर लोहनीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीको क्रममा स्वास्थ्यसम्बन्धी समस्या भएकालाई १२ लाख ४२ हजार रुपियाँ आर्थिक सहयोग गरेको केन्द्रले जनाएको छ । स्वास्थ्यसम्बन्धी समस्या भएका १२ जनाको निवेदन आएकोमा पाँच जनाको समस्या समाधान भएको र सात जनाको प्रक्रियामा रहेको केन्द्रले जनाएको छ ।
सो बाहेक अलपत्र, उद्धारलगायत विभिन्न समस्यामा परेकालाई ६२ लाख ६२ हजार रुपियाँ सहयोग गरेको केन्द्रले जनाएको छ । उक्त रकम जिल्ला प्रशासन कार्यालयमा आएको र पीडितहरूलाई प्रदान गरिएको आप्रवासी स्रोत केन्द्र लमजुङका परामर्शदाता लोहनीले बताउनुभयो ।
सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौता बमोजिम सन् २०१३ देखि कार्यान्वयन भइरहेको छ । नेपाल सरकारको तर्फबाट श्रम तथा रोजगार मन्त्रालय र हेल्भेटास स्वीस इन्टर कोअपरेसनले संयुक्त रूपमा लमजुङसहित देशका विभिन्न जिल्लाहरू छनोटगरी सो परियोजना कार्यान्वयनमा आएको वैदेशिक रोजगार विभागका बोर्ड सदस्य शिव रेग्मीले जानकारी दिनुभयो ।
यसअघि जिल्लाको सदरमुकाम बेसीसहरमा मात्र कार्यान्वयन भएको सो योजना यसै वर्षदेखि सुन्दरबजार र दोर्दीमा पनि सुरु भएको छ । बेंसीसहर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय परिसर भित्रको संरचनाबाट सेवा प्रवाह गरिरहेको छ । सो परियोजना अन्तर्गत सम्भावित आप्रवासी कामदार, वैदेशिक रोजगारबाट फर्किएका आप्रवासी कामदार, आप्रवासी कामदारका परिवार, विद्यालयका विद्यार्थीहरू, सञ्चार क्षेत्र तथा समाजका विभिन्न समूहलाई आवश्यकताअनुसार सूचना, सीप, न्यायको पहुँच, मनोसामाजिक परामर्श सेवा, पैरवी, पुनःस्थापन, क्षमता विकासजस्ता विभिन्न कार्यक्रम सञ्चालन हुँदैआएको छ ।
परियोजनाबाट सुरक्षित वैदेशिक रोजगारमा जान चाहनेका लागि भरपर्दाे तथा तथ्यमा आधारित आवश्यक सूचनाहरू उपलव्ध गराउने, वैदेशिक रोजगारमा सीप तालिम लिएर मात्र जान अभिप्रेरित गर्ने, साथै निःशुल्क सीप तालिमका लागि सिफारिस गर्ने, वैदेशिक रोजगारमा जाँदा लेखबद्ध भएर जान अभिप्रेरित गर्ने र यसका प्रक्रियाहरूबारे जानकारी गराउने, बिमा गराउँदा, स्वास्थ्य परीक्षण गराउँदा, करारनामामा हस्ताक्षर गर्दा र वैदेशिक रोजगार व्यवसायी कम्पनी छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू जानकारी तथा परामर्श हुनेगर्छ ।