• २ असार २०८२, सोमबार

महायज्ञबाट एक करोड १९ लाख बचत

blog

महायज्ञको आय–व्यय सार्वजनिक गरिँदै । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, असार २ गते । स्याङ्जाको वालिङमा आयोजना गरिएको महायज्ञबाट एक करोडभन्दा धेरै रुपियाँ बचत भएको छ । वालिङमा रहेको केदारनाथ मन्दिर क्षेत्रलाई शिवधामको रुपमा विकास गर्न भन्दै गत वैशाख १७ गतेदेखी २३ गते वालिङ खेल मैदानमा महायज्ञ आयोजना गरिएको थियो । 

केदारनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा एक करोड ४१ लाख ४६ हजार ९८ रुपियाँ आम्दानी भएकोमा व्यवस्थापनतर्फ २२ लाख ३६ हजार १५४ रुपैया खर्च भएको आयोजकको भनाइ छ । महायज्ञमा एक करोड १९ लाख ९ हजार ९४४ बचत भएको महायज्ञका वाचक पण्डित नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

महायज्ञमा बचत भएको रकममध्येबाट संस्थाको नाममा ६२ लाख ४० हजारको जग्गा खरिद गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अब बचत बाँकी ५६ लाख ६९ हजार ९४४ छ । महायज्ञमा घोषित भएको रकममध्येबाट चेक साट्नसहित ५१ लाख १८ हजार २५४ उठ्न बाँकी रहेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।  

संस्थाको नाममा झण्डै ८ आना जग्गा खरिद गरेको जानकारी दिनुहुँदै महायज्ञ आयोजक समितिका कोषाध्यक्ष चेतनारायाण श्रेष्ठले जग्गा खरिद गरेसँगै आगामी आर्थिक वर्षका लागि शहरी विकास मन्त्रालयबाट ३ करोड विनियोजन भएको जानकारी दिनुभयो । 

योगी नरहरिनाथद्वारा नामकरण गरिएको वालिङ नगरपालिका –८ को केदारनाथ मन्दिरलाई स्तरोन्नति गरी शिवधाम निर्माण गर्न लागिएको आयोजक समितिका अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्व मेयर दिलीपप्रताप खाँणले जानकराी दिनुभयो । 

स्याङ्जाको मुख्यबजार क्षेत्रमा रहेको मन्दिरलाई नयाँ स्वरुप दिन र धाम निर्माणका लागि महायज्ञ सफलतापूर्वक सम्पन्न गरिएको उहाँको भनाइ छ । निकट भविष्यमा निर्माण गरिने धाममा धर्मशाला, क्रियापुत्री भवन, अन्न क्षेत्र तीर्थयात्री निवास, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकुलम्) आदि निर्माण गरिने सचिव भूपराज बगालेले जानकारी दिनुभयो । महायज्ञमा पण्डित नेत्रप्रसाद पराजुलीले सङ्गीतमय कथा वाचन गर्नुभएको थियो ।