प्रदीप पन्त
बागलुङ, असार २ गते । पहिराको कारण बागलुङको जैमिनीमा चार घर परिवार जोखिममा परेका छन् । जैमिनी नगरपालिका –१० देबलधारास्थित सेलडाँडामा आइतबार राति आएको पहिरोले चार घर परिवार जोखिमा परेका हुन् ।
बागलुङ–शान्तिपुर सडक खण्डमाथि डाँडाखेतबाट आएको पहिरोले स्थानीय भीमबहादुर श्रीसको घर तथा गोठ उच्च जोखिमा परेको जैमिनी नगरपालिका वडा १० का कार्यवाहक अध्यक्ष भरत श्रीसले बताउनुभयो ।
पहिरोको कारण माटो झर्दा स्थानीय जयराम आचार्य, रामसागर शर्मा, एकराज शर्माको घर पनि जोखिमा परेको का.वा. अध्यक्ष श्रीसले बताउनुभयो । “घरमाथिको जमिन फाट्दै गएको छ” श्रीसले भन्नुभयो, “यसबाट जुनसुकै समयमा पनि तलको बस्तीमा पहिरो खस्न सक्छ ।”
पहिरोका कारण चार घरका १२ जना समस्यामा परेका छन् । डाँडाखेतबाट आएको पहिरोले सडक अवरुद्ध गर्दा बागलुङ–शान्तिपुर सडक अवरुद्ध भएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।