रजनी योगी
सुर्खेत, असार २ गते । वीरेन्द्रनगरमा यौनजन्य गतिविधि बढ्न थालेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा दस जिल्लाका मानिसहरूको बसोवास रहेको छ । लागुऔषध दुर्व्यसनीको हब बनिरहेको वीरेन्द्रनगरमा पछिल्लो समय यौनजन्य गतिविधि पनि बढ्न थालेका हुन् ।
सोमबार मात्र प्रहरीले वीरेन्द्रनगरका होटल तथा रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । त्यसमा होटल सञ्चालकदेखि त्यस्तो क्रियाकलापमा संलग्न युवायुवतीहरू रहेका छन् ।
पक्राउ पर्नेमा ११ जना महिला र १४ जना पुरुषहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक, मोहनजङ्ग बुढथापाले बताउनुभयो । उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको उहाँको भनाइ छ ।
बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका—६ बुद्धपथमा रहेका होटल हार्दिक, दङ्गाली, विकाश होटलबाट ती युवा, युवतीहरूलाई नियन्त्रणमा लिइएको थियो । राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँमा पछिल्लो समय अवैध रूपमा यौनजन्य गतिविधि हुने गरेका छन् ।