सन्तोष दहित
दाङ, असार १ गते । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट वक्तव्यसहित छ वटा महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ । राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।
बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ लाई स्वीकृति दिएको छ । यस नियमावलीले प्रशासनिक सुधार र कार्यक्षमता बढाउने विश्वास लिइएको छ । बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्डमा गरिएको पहिलो संशोधनलाई पनि बैठकले पारित गरेको छ।
यसका साथै, प्रदेश सञ्चित कोषबाट खर्च र विनियोजन सम्बन्धी विधेयक, र आर्थिक प्रस्ताव कार्यान्वयन गर्न आवश्यक विधेयकको मस्यौदालाई पनि प्रदेश सभामा पेस गर्न स्वीकृति दिइएको छ। त्यस्तै, “सामयिक कर असुली ऐन २०८२” अन्तर्गत जारी गरिएको सूचित आदेशलाई पनि बैठकले अनुमोदन गरेको छ ।