• २ असार २०८२, सोमबार

हेवा खोलामा तत्काल अर्को पुलको व्यवस्था हुनुपर्छ : योगेश भट्टराई

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै सांसद योगेशकुमार भट्टराई।

काठमाडौँ, असार १  गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएको छ। 

प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा उहाँले हिजो पुलको केही भाग जडानका क्रममा भाँचिदा तीन जना मजदुरको ज्यान गएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभयो। उहाँले त्यहाँ अर्को बेलिब्रिज जडान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। 

हेवाखोलामा पुल नहुँदा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सहज रूपमा आउजाउ गर्न कठिन भएको बताउँदै सांसद भट्टराईले भन्नुभयो, “अघिल्लो वर्ष बाढीले हेवाखोलाको निर्माणाधीन बेलिब्रिज भत्काएको थियो। सरकारले तीव्र गतिमा त्यसमा काम गरिरहँदा हिजो भाँचियो। पुल नहुँदा ताप्लेजुङमा निर्माणधीन जलवविद्युत् आयोजनाका निर्माण सामग्री, दैनिक उपभोग्यवस्तुको ढुवानी प्रभावित भएको छ। पर्यटक र बिरामीलाई समस्या भएको छ।”

 नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले इजराइल–इरान युद्धका कारण जोखिममा परेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले इजराइलमा रहेका सात हजार नेपालीको सुरक्षाका लागि तत्काल कूटनीतिक प्रयास थाल्नुपर्नेमा जोड दिनुभयो।  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले  सर्लाही क्षेत्र नं १ को निर्वाचन रणनीतिक सडकको लालबन्दीदेखि मलङ्गवा जोड्ने पुल अलपत्र भएकाले त्यसमा ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो। नेपाली कांग्रेसका सांसद नागिना यादवले सदन अवरोध हुँदा जनताका समस्या सदनमा राख्न समस्या भइरहेको बताउनुभयो।  

एमालेका ठाकुरप्रसाद गैरेले पाल्पाको रम्भा गाउँपालिका– ३ रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बाबारे चर्चा गर्दै उच्च भेगमा पाइने जडीबुटीको खोज अनुसन्धान एवं प्रयोगबारे सरकारको ध्यानाकर्षण गराउनुभयो। 

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो।