रजनी योगी
सुर्खेत, असार १ गते । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबिच सहमति नजुट्दा कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । माओवादीले योजना बैँकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको छ ।
माओवादी संसदीय दलको बैठकले योजना बैँकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसदमा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धता अनुसार जिल्लाबाट सिफारिस भएका योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको हो ।
३ बजेका लागि तय गरिएको बैठक अनिश्चित बनेको छ । माओवादी उपस्थित नहुँदा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन । माओवादीका प्रमुख सचेतक कृष्ण जिसीले जायज माग सम्बोधन नहुँदासम्म बैठकमा सहभागी नहुने बताउनुभयो ।