• २ असार २०८२, सोमबार

राजपुर नगरपालिकाको बजेट ५७ करोड ५३ लाख

blog

नवौं नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलम । तस्बिरः प्रवीणकुमार शर्मा

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), असार १ गते । रौतहटको राजपुर  नगरपालिकाले आर्थिक वर्ष २०८२–८३  का लागि ५७  करोड ५३  लाख ७८  हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ९  औं नगरसभाबाट नगर प्रमुख डाक्टर राजिक आलमले आन्तरिक स्रोत, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गर्नुभयो । 

जसमा आन्तरिक आम्दानी ८५ लाख, राजस्व बाँडफाँट सङ्घीय सरकार ११ करोड ४७ लाख, बित्तीय समानिकरण अनुदान सङ्घीय सरकार ११ करोड ३९ लाख, संघिय सरकार सशर्त अनुदान २६ करोड ४२ लाख , सङ्घिय सरकार विशेष अनुदान १ करोड ६४  लाख,सङ्घिय सरकार समपुरक अनुदान २ करोड ८९ लाखको बजेट सार्वजनिक  गरिएको छ ।

त्यस्तै, राजस्व बाँडफाँट प्रदेश सरकार ८० लाख, प्रदेश सरकार समानिकरण अनुदान ७७ लाख ७८ हजार, प्रदेश सरकार सशर्त अनुदान ८० लाख, प्रदेश सरकार बिशेष अनुदान ३० लाख, प्रदेश सरकार समपूरक अनुदान २० लाख नगर सभाबाट सार्वजनिक गरिएको हो ।

सिमित स्रोत साधनबिच बजेट निर्माण गरिएको नगर प्रमुख डा. आलमले जानकारी दिनुभयो ।  नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ । प्रत्येक वडामा एउटा स्मार्ट विद्यालयको स्थापना, विद्यार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता, नगरका निरक्षरको डाटा सङ्कलन गरी साक्षरता कक्षा सञ्चालन गरिने, प्रत्येक माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना, शिक्षकहरूको मासिक तलव भुक्तानीको व्यवस्था मिलाइने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगर प्रमुख डा. आलमले बताउनुभयो । नगरपालिका अन्तर्गत प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना, मूल सडकलाई कालोपत्रे  र सहायक सडकलाई पक्की ढलान, प्रत्येक घरमा एक बिरुवा अनिवार्य लगाउने, बेरोजगारलाई आवश्यक सीप दिई न्यून ब्याजदरमा ऋण उपलब्ध गराई स्वरोजगार बनाइने लगायतका कार्यक्रम समेटिएको छ । 

रङ्गशाला निर्माण, प्रत्येक वडामा सामुदायिक  मेलमिलाप केन्द्र सञ्चालन, हाल रहेको बर्थिङ सेन्टरलाई व्यवस्थित गरी अरू वडामा समेत बर्थिङ सेन्टर विस्तार गरिने भएको छ ।

नगरवासीलाई सेवा सुविधाको जानकारी तथा प्रक्रिया बुझ्न प्रत्येक नागरिकलाई जानकारी दिन मोबाइल एप समयानुकुल अध्यावधिक गर्ने, फोहोर मैला व्यवस्थापनका लागि फोहोर बिसर्जन केन्द्र बनाइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।