जनार्जन खत्री
सर्लाही, असार १ गते । सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सेवा आइतबार ठप्प भएको छ ।
पूर्व पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–९, नोचाँमा शनिबार पूर्व पश्चिम राजमार्ग विस्तारमा प्रयोग भएको टिप्परको ठक्करबाट बिजुलीको एउटा पोल भाँचिएको थियो । शनिबारदेखि अवरुद्ध विद्युत् सुचारु नहुँदा मालपोत र नापी कार्यालयको सेवा प्रभावित बनेको हो ।
यी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही निराश बनेका छन् । कतिपय सेवाग्राही घर फर्किसकेका छन् भने कतिपय बत्ती सुचारु भएपछि काम हुने आसमा अझै पनि कार्यालय परिसरमै बसिरहेका छन् ।
कार्यालय बाहिर रहेका लेखापढी व्यवसायीसमेत कामविहीन बनेका छन् । मालपोत कार्यालय हरिवनका एक कर्मचारीले जेनेरेटर चलाउन तेल नरहेकाले बत्ती आएपछि मात्रै कार्यालयको सेवा सुचारु हुने अवस्था रहेको बताउनुभयो ।
तेलका लागि भनेर आएको सीमित बजेट खर्च भइसकेको ती कर्मचारीले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले नयाँ पोल हाल्ने काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले गाउँले प्रयोग गर्ने बिजुली शनिबार सुचारु गरे पनि मालपोत र नापीतर्फको लाइन अब पोल फेर्ने काम गरेपछि जोड्ने बताउनुभयो ।