काठमाडौँ, असार १ गते । नेपालका नम्बर एक स्क्वास खेलाडीद्वय अरहान्त केशर सिम्ह र विपना ब्लोनले १३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको उपाधि जित्नुभएको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा सात दोबाटोस्थित स्क्वास कोर्टमा शनिबार बागमती प्रदेशका अरहान्तले मधेश प्रदेशका दीपक थापालाई फाइनलमा ११–६, ११–७ र ११–५ ले हराउँदै पुरुष एकल उपाधि जित्नुभएको हो ।
यस्तै महिला एकल उपाधि भिडन्तमा बागमतीकी विपनाले दोस्रो वरीयताकी बागमतीकै स्वस्थानी श्रेष्ठलाई सोझो सेटमा १२–१०, ११–७ र ११–७ ले हराउनुभयो ।
गत महिना प्रथम बागमती प्रेसिडेन्ट स्क्वास प्रतियोगिताको फाइनलमा पनि विपना स्वस्थानीलाई फाइनलमा हराएर च्याम्पियन बननुभएको थियो ।
अरहान्तले पनि बागमती प्रेसिडेन्ट कपमा उपाधि जित्नुभएको थियो । प्रतियोगितामा बागमतीले पुरुष र महिला टिम इभेन्टमा पनि स्वर्ण पदक जितेको थियो ।