• २९ असार २०८१, शनिबार

लोकसेवा आयोगले जोगाएको साख

blog

आफ्ना, नजिकका नातेदारहरू, भाइभारदारहरू भएकै कारणले विभिन्न पदमा अवसर पाउने विषय न्यायसङ्गत हुँदैन । राज्यको नजरमा सबै नागरिक समान हुन् र सरकारी सेवामा सबैको समान पहुँच रहोस् भन्ने भावनाका साथ नेपाल पब्लिक सर्विस कमिसनको नामबाट नेपालको अन्तरिम संविधान २००७ बमोजिम वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो । 

पद्धति हुनुपर्छ भने तापनि कार्यान्वयन गर्ने, गराउने व्यक्तिहरूले त्यसलाई सहज ढङ्गले अवलम्बन गर्नुपर्ने हो, त्यो बिरलै पाइन्छ । आयोगले नेपाली युवाको आस्था र विश्वासको धरोहरको रूपमा यसले काम गरिरहेको छ । बर्सेनि लाखौँ परीक्षार्थी प्रतियोगितात्मक परीक्षामा सहभागी भई यसका प्रक्रियाहरूलाई आत्मासात् गरिरहेका छन् ।

नेपालमा २००७ सालदेखि जति पनि संविधानहरू बने, सबैमा लोकसेवा आयोगको प्रावधान उल्लेख गरिएको थियो । वर्तमान नेपालको संविधानमा यसको दायरालाई फराकिलो बनाउँदै निजामती सेवाको मात्र परीक्षा र सिफारिस गरिरहेकोमा सुरक्षा निकायहरू र नेपाल सरकारको ५० प्रतिशत वा सोभन्दा बढी लगानी लगाइएका संस्थान, बोर्ड, समिति जति पनि छन्, लिखित परीक्षा सञ्चालन गर्ने र सामान्य सिद्धान्त निर्माण गर्ने कार्यसमेत थपेर यसको दायरालाई फराकिलो पार्ने कार्य विधायकहरूले गरेका छन् । 

संस्थानहरूमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनको काम पूर्ण रूपमा आयोग आफैँले गर्दछ भने अन्य परीक्षामा आयोगको प्रतिनिधि रहने व्यवस्थाले यसको कार्यबोझ बढेको छ । आजसम्म आइपुग्दा यसले स्थापित गरेका विधि पद्धतिलाई अवलम्बन र परिपालना गर्दै अगाडि बढेको खण्डमा यसले आफ्नो विश्वास र साखमा अझ बढोत्तरी गर्दै लैजान्छ भन्ने विषयमा दुईमत हुनै सक्तैन । 

अवलम्बन गरिरहेका प्रक्रियागत विषयहरू 

नेपालको संविधान, लोकसेवा आयोग ऐन, २०६६ र प्रचलित कानुनबमोजिम आयोगले गर्नुपर्ने सबै काम आयोगको बैठकबाट निर्णय भएबमोजिम हुने व्यवस्था छ । कर्मचारीको नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा संविधान, लोकसेवा आयोग ऐन र अन्य प्रचलित कानुन तथा आयोगले समय, समयमा तोकेको कार्यविधि र सर्तबमोजिम गरेको छ वा छैन भन्ने सम्बन्धमा संवैधानिक निकाय वा नेपाल सरकारका विभिन्न मन्त्रालयलगायतमा निरीक्षण गराउन सक्ने व्यवस्था रहेको छ । प्रचलित कानुन तथा आयोगले समयसमयमा तोकिएको कार्यविधि र सर्त पूरा नगरी कर्मचारीलाई नियुक्ति, बढुवा वा विभागीय कारबाही गरेको पाइएमा आयोगले अनियमित गर्न सक्ने व्यवस्था रहेको छ । 

स्वीकृत दरबन्दी र माग 

परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्नु, प्रयोगात्मक तथा अन्य परीक्षा लिई नेपाल सरकारलाई जनशक्ति सिफारिस गर्नु यसको मुख्य काम हो । लोकसेवा आयोगले कतिजना कर्मचारी कुन सेवा, समूह र पदमा पठाउने भन्ने विषय पहिलो रहन्छ । त्यसका लागि नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गत रहने विभिन्न विभाग र कार्यालयहरूमा रहने कर्मचारीहरूको स्वीकृत दरबन्दी कति छ उक्त स्वीकृत दरबन्दीमा कति कर्मचारी कुन, कुन श्रेणी वा तहमा रिक्त छन्, सोको माग आयोगको निर्दिष्ट माग फाराम भरी पठाउने प्रावधान छ ।

पदपूर्तिका लागि माग गरिसकेपछि राजपत्र अङ्कित पदको हकमा सरुवाद्वारा पूर्ति गर्न सकिने छैन, आयोगद्वारा पठाइएको नयाँ कर्मचारी नै पदस्थापन गर्नुपर्ने व्यवस्था छ । योग्यताको विषय सम्बन्धित सेवा समूह सञ्चालन गर्ने मन्त्रालयले आफ्नो नियमावलीमा उल्लेख गरेको हुन्छ, सोही आधारमा आयोगले विज्ञापन गर्दा योग्यता खुलाएको हुन्छ ।

आफ्नो परीक्षा कार्यक्रम कहिले गर्ने भनेर प्रत्येक वर्षको साउन १ गते वर्षभरिको विभिन्न श्रेणी तह र पदका विज्ञापनको महिना, लिखित परीक्षालगायत समेटी वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने गर्दछ । कसको विज्ञापन कहिले हुन्छ वर्ष अगाडि नै थाहा हुन्छ उम्मेदवारहरूले शैक्षिक योग्यता मिल्दो पदमा मोबाइल वा कम्प्युटरको अनलाइन पद्धतिबाट घरैबाट वा विदेशबाटै भए पनि फाराम भर्नसक्ने व्यवस्था मिलाएको छ । 

कच्चा प्रश्नपत्र निर्माण, परिमार्जन

विभिन्न श्रेणी र पदको विज्ञापनलाई आवश्यक पर्ने विषय क्षेत्रका विज्ञहरूको नामावली मनोनयनका लागि आयोगको अध्यक्ष वा सदस्यमा पेस गरिन्छ र निर्देशनसहित कच्चा प्रश्नपत्र निर्माणका लागि समयसीमा सहित अनुरोध गरिन्छ एउटा प्रश्नपत्रका लागि कम्तीमा पनि पाँचजना विज्ञबाट न्यूनतम तीन सेट प्रश्न निर्माण हुने गरी लिइन्छ र विज्ञहरूबाट प्रश्नपत्र परिमार्जन गरिन्छ । उक्त परिमार्जित प्रश्नका सेटलाई कोड नम्बर दिएर प्रश्नपत्र बैङ्कमा राखिन्छ ।

परीक्षा हुने समयमा प्रश्नपत्र छपाइ प्रयोजनका लागि आयोगका अध्यक्षबाट कोड नम्बरकै आधारमा छानी कुनै एउटा सेट प्रयोगमा ल्याइन्छ । प्रश्नपत्र छपाइमा बसेका कर्मचारीहरू छपाइ भएदेखि परीक्षा सुरु भएको आधा घण्टासम्म अन्य व्यक्तिको सम्पर्कमा रहँदैनन् सो समयमा टेलिफोन सम्पर्क समेत वर्जित छ, कथमकदाचित सम्पर्क गर्नु परेमा सामूहिक रूपमा मात्र गर्न सकिन्छ । 

परीक्षा सञ्चालन

विभिन्न परीक्षा केन्द्रका कोठाहरूको व्यवस्थापन र समन्वय गर्न एकजना समन्वयकर्ताको व्यवस्था भएको हुन्छ । उत्तरपुस्तिका वितरण र सहजीकरण निरीक्षकद्वारा हुने, सहायक केन्द्राध्यक्षले केन्द्राध्यक्षबाट प्रश्नपत्र बुझी कोठामा प्रश्न वितरणको व्यवस्था मिलाउने प्रवेशपत्र भिडाइ हेर्ने, विवरणहरू दुरुस्त छ, छैन जाँची उत्तरपुस्तिकामा दस्तखत गर्ने, परीक्षा सकिएपछि उत्तरपुस्तिकाहरू उम्मेदवारअनुसार रुजु गरी सङ्ख्या यकिन गरी केन्द्राध्यक्षलाई हाजिरी र उपस्थिति नाम बताउँदै रुजु गर्दै पढेर बुझाउनु पर्दछ । केही कैफियत जस्तोः उम्मेदवारले उत्तरपुस्तिका वा प्रश्नपत्र नबुझाएमा वा मर्यादाभन्दा बाहिरको काम गरेमा मुचुल्का उठाई सोसमेत बुझाउनु पर्दछ । 

यसरी सबै परीक्षा कोठाबाट सङ्कलित उत्तरपुस्तिकाहरू एउटा थैलोमा राखेर लाहाछाप गरी सबै विवरण खोली (उत्तरपुस्तिका सङ्ख्या, मुचुल्का बन्द गरेको मिति, समय, आदि मुचुल्कासमेत गरेर उत्तरपुस्तिकाको थैलो परीक्षा नियन्त्रककोमा बुझाउनुपर्छ । 

परीक्षा केन्द्रबाट सङ्कलन भई आएका उत्तरपुस्तिकाहरू कुनै पनि उम्मेदवारको नाम ठेगाना हटाइ उसको पहिचान लुकाएर परीक्षण गराउँदा निष्पक्ष हुन्छ भनी कोड नम्बर राख्ने गरिन्छ । प्रथम कोड राख्नेले उम्मेदवारको नाम नामेसी लेखिएको भागतर्फ र अर्को खण्डमा कुनै काल्पनिक अङ्क राख्ने र अर्धकट्टी च्यातेर सिलबन्दी गरी छुट्टे ठाउँमा राखिन्छ र अर्कै समूहलाई दोस्रो कोड नम्बर राख्न उक्त उत्तरपुस्तिकाहरू दिइन्छ । उक्त दोस्रो पटक राखिएको कोड मात्र बाँकी राखी पहिलेको कोड नं भएको भाग सिलबन्दी गरिन्छ ।

द्वितीय कोडका आधारमा उत्तरपुस्तिकाहरू परीक्षणको लागि परीक्षककोमा वा कार्यालयमा नै आमन्त्रण गरिन्छ र द्वितीय कोड नम्बरको आधारमा मार्कसिट बनाइन्छ । सबैभन्दा उच्चतम अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई अन्तिम चरणको अन्तर्वार्ताका लागि सूचना प्रकाशन गर्ने निर्णय गरिन्छ त्यसपछि कोड र अङ्क छुट्टै सिलबन्दी गरी, अङ्क नभएको कोड नम्बरहरू मात्र अर्को शाखालाई डिकोड गरी वर्णानुक्रमअनुसार सूचना प्रकाशन गर्न लगाइन्छ । यसरी अङ्क थाहा पाउनेले नाम थाहा पाउँदैन नाम थाहा पाउनेले अङ्क थाहा पाउँदैन । अन्तिम चरणको सिफारिस गर्ने क्रममा जोड गर्दा मात्र उक्त अङ्क थाहा हुन्छ । परीक्षामा असंलग्न हुनुपर्ने 

आयोगको कुनै पनि पधाधिकारीको आफ्नो नातेदार भएमा वा कर्मचारी आफू परीक्षार्थीको रूपमा संलग्न हुनेमा उक्त कर्मचारी वा पदाधिकारी यस्तो परीक्षाको अन्तर्वार्तालगायतका कार्यहरूमा संलग्न नहुने अग्रिम जानकारी आयोगलाई दिएको हुनुपर्दछ । यसरी निवेदन पाएपछि उक्त कर्मचारीलाई वा पदाधिकारीलाई उक्त परीक्षाको सबै जिम्मेवारीबाट हटाइन्छ । 

आयोगले वस्तुगत उत्तरपुस्तिका ओ. एम. आर. मेसिनद्वारा परीक्षण गर्दै आइरहेको छ । वस्तुगत उत्तरपुस्तिका प्रथम चेक, द्वितीय चेक र अन्तिम चेक गरी तीन पटक परीक्षण गरिन्छ । यसैगरी सहसचिव उपसचिव तहका उत्तरपुस्तिकाहरू एउटै उत्तरपुस्तिका फरक–फरक समयमा दुई जना दक्षहरूबाट परीक्षण गराई विषयगत मूल्याङ्कनको अन्तरलाई न्यून गर्नको निमित्त दुई जनाको अङ्कलाई जोडी औसत निकाली उत्तरपुस्तिकाको अङ्क कायम गरिन्छ ।

आयोगले अपनाउँदै आएका चलन र सानासाना चरणहरू, विधिहरू, परम्परागत मूल्य, मान्यताहरू मूल मर्मको परिपालानाले आयोगलाई निष्पक्षताको जगमा उठाउन मद्दत पुगेको छ । अन्तर्वार्ता समितिको गठन आयोगको केन्द्रीय कार्यालयमा हुने अन्तर्वार्ता समितिमा अध्यक्ष वा निजले तोकेको सदस्यको अध्यक्षतामा अन्तर्वार्ता समिति गठन हुने व्यवस्था छ । केन्द्रमा राजपत्राङ्कित तहका कर्मचारीको लागि अन्तर्वार्ता लिने गरिन्छ । 

७ वटा प्रदेशमा सहसचिवस्तरको कार्यालय प्रमुखको दरबन्दी रहेको स्थानमा राजपत्र अनङ्कित नायब सुब्बा वा पाँच तहसम्मको अन्तर्वार्ता लिइन्छ भने अञ्चलस्थित प्रमुख उपसचिवको दरबन्दी भएका कार्यालयहरूमा राजपत्र अनङ्कित द्वितीय श्रेणी वा चौथो तहसम्मका उम्मेदवारहरूको अन्तर्वार्ता लिइने गरिन्छ । यसरी बाहिर कार्यालयमा सञ्चालन हुने परीक्षामा एकजना केन्द्रीय प्रतिनिधि रहने व्यवस्था रहेको छ प्रत्येक अन्तर्वार्ता समितिका सदस्य एकले दिएको अङ्क अर्कोलाई थाहा हुँदैन । अन्तर्वार्ता अगाडि वा पछाडि उम्मेदवारको विषयमा राम्रो वा नराम्रो विषयमा छलफल गर्न पाइँदैन ।

आयोगले लामो इतिहासमा भोगेका, देखेका कमजोरीलाई हटाउन बनाइएका नियम, प्रचलन र कानुनी व्यवस्थालाई परिपालना गर्नु गराउनु र त्यसको अडिट गरिरहनु अपरिहार्य छ । यहाँ व्यक्तिले भन्दा पद्धतिले भूमिका खेल्छ तर त्यतिभन्दा भन्दै पनि पद्धति व्यक्तिले नै चलाउने हुँदा व्यक्ति पनि महìवपूर्ण हुन्छ । आयोगको वार्षिक समारोह मनाइरहँदा यसले हासिल गरेका मूल्य, मान्यता, विधिको संवद्र्धन संरक्षण, कानुनको पालना र आम युवाको आशा विश्वास कायमै राख्न सक्नुपर्छ । 

Author

डा. खगेन्द्रप्रसाद सुवेदी